काठमाडौं । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा कृषि मेला आयोजना हुने भएको छ। भदौ २९ देखि ३१ गतेसम्म ‘एग्रो ट्रेड एन्ड इन्भेस्टमेन्ट एक्जिविसन एन्ड कन्फ्रेन्स’ आयोजना हुन लागेको हो। कृषि तथा पशुपन्छी सेवा विभाग, नेपाल एग्री बिजनेस इन्नोभेसन सेन्टर र नेपाल डेरी एसोसिएसनसँग सहकार्यमा इभेन्ट म्यानेजमेन्ट कम्पनी हाउस अफ राजकर्णिकारले मेला आयोजना गर्न लागेको हो।

मेलामा एक सय २५ वटासम्म स्टल रहने आयोजक कम्पनीले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ। मेलामा डेरीसम्बन्धी १५/१६ वटा स्टल रहनेछन् भने कफी तथा चियाका १० वटा स्टल रहने हाउस अफ राजकर्णिकारका अध्यक्ष वीरेन्द्र राजकर्णिकारले जानकारी दिए। मेलामा भारतका ८/१० वटा र चीनका चारवटा स्टल रहने उनको भनाइ छ। यस्तै एनजीओ र आईएनजीको पनि मेलामा सहभागिता रहनेछ।

मेलामा कृषि, बागवानी(फलफूल), तरकारी, मलखाद्य, माछा, कृषि औजार, कृषि प्रविधि, मह, कफी, चिया, डेरी, वनस्पती, पोल्ट्री, पशु र नगदेवालीसहित १ सय २० वटा विभिन्न प्रकारका स्टाँल राख्ने व्यवस्था गरिएको छ । मेलामा करीव ३० हजारले अबलोकन गर्ने आशा राखिएको छ ।

पछिल्लो समय नेपालको कृषिक्षेत्रमा लगानी बढ्दै छ। तर, लगानी अपेक्षित रूपमा भने बढ्न सकेको छैन। मेलाको उद्देश्य नै कृषिमा ठूला व्यावसायिक घरानालाई पनि आकर्षित गर्नु रहेको राजकर्णिकारले बताए। मेलामा कृषिसम्बन्धी गोष्ठी हुनेछन्। कृषिका लगानीकर्तालाई बोलाएर गोष्ठी गरिने उनले बताए। यस्तै, बी टू बी मिटिङ पनि गरिने भएको छ।

मेलाले व्यवसायिक कृषिका लागि प्राविधिक, वित्तीय जानकारी, जनचेतना जनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । यो मेलामा सहभागी उपभोक्ता, विज्ञ, व्यवसायी, आयात तथा निर्यातकर्तालगायतलाई आपसी ज्ञान र सिप वाड्न र आदान प्रदान गर्न अति नै उपयुक्त थलो सावित हुने अपेक्षा गरिएको छ ।