काठमाडौ । कृषि बिकास मन्त्रालयको नेतृत्वमा सञ्चालित कृषि बिमा कार्यक्रम लागि सरकारले ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक बर्ष २०७४÷७५ का लागि मन्त्रालयले माग गरे बमोजिम कृषि विकासका लागि १० करोड ५० लाख र पशुपन्छी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको छ । यो रकम गत आवको तुलनामा साढे तिन गुणाले बढी हो ।

गत बर्षहरुको तुलनामा यस बर्षका लागि विनियोजन गरिएको रकम सबैभन्दा धेरै हो । यस अघिका आवहरुमा सरकारले विनियोजन गरे भन्दा धेरै रकम माग भै आएकाले सरकारले कृषि बीमा कार्यक्रमका लागि रकममा बृद्धि गरेको हो ।

यस अघि कृषि र पशुपन्छी बिमाको कार्यक्रम एउटै मन्त्रालयले हेर्दै आएको भए पनि गत आवबाट भने मन्त्रालय विभाजन भएका छन् । सोही अनुरुप कृषि र पशुपन्छी बिमा कार्यक्रम सञ्चालनको जिम्मेवारी पनि बाँडीएको छ ।

गत आवमा सरकारले कृषि विकास मन्त्रालयका लागि ६ करोड र पशुपन्छीका लागि जम्मा ४ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो । तर, उक्त रकम अपुग भएपछि मन्त्रालयलहरुले अर्थमन्त्रालयसँग थप रकम माग्नु परेको थियो । त्यसैले पनि चालु आर्थिक बर्षका लागि रकम बढाएर माग गरिएको कृषि विकास मन्त्रालयका व्यवासय प्रबद्धन शाखाका प्रमुख सिरीष पुनले बताउनुभयो ।

कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव २०७०÷७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, उक्त बर्ष कृषि बिमाको प्रचार प्रसार हुन नसक्दा जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको थियो । त्यसैले दोस्रो बर्ष आव २०७१÷७२ मा भने सरकारले जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । तर, उक्त बर्ष भने कृषि बिमा व्यापक रुपले बढ्यो । विनियोजित रकम अपुग भए पछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव २०७२÷७३ को लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । उक्त बर्ष पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको थियो ।

गत आवमा भने कृषि बिमाका लागि सबैभन्दा थोरै रकम विनियोजन गरिएको थियो । कृषि मन्त्रालयले आवश्यक रकम प्रस्ताव गरे पनि पशुपन्छी मन्त्रालयले भने धेरै कम रकम माग गरेको थियो । मन्त्रालय विभाजन हुँदा यस सम्बन्धी कति रकम आवश्यक पर्छ भन्ने कुरा थाहा नहुँदा रकम पनि कम माग गरिएको पशुपन्छी विकास मन्त्रालयले बताएको छ । तर, रकम अपुग भए पछि मन्त्रालयले अर्थमन्त्रालयसँग थप बजेट माग गरेको थियो