
काठमाडौं। सरकारले मंसिर १० गते एकैदिन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गर्ने गरी मिति घोषणा गरेको हो ।
सरकारका प्रवक्ता मोहन बस्नेतले निर्वाचन आयोगले दिएको सुझाबका आधारमा निर्वाचन मिति तोकिएको बताए । निर्वाचनको मिति घोषणाको निर्णय मंगलबार निर्वाचन आयोगलाई पत्र लेखेर जानकारी गराउने सरकारी तयारी छ ।
सरकारले करिब ३ महिनाको समय राखेर निर्वाचन मिति घोषणा गरेको हो । यसबीचमा सरकारले प्रदेश नं. २ मा तेस्रो चरणको स्थानीय निर्वाचन गर्नै बाँकी छ भने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी गर्नुपर्नेछ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि ९ चुनौती देखापरेका छन् ।