काठमाडौं। देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ ।करिब २४ घन्टादेखि जारी मुसलधारे वर्षापछि उत्पन्न बाढीपहिरोले अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तिमा ३० जनाको ज्यान गएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले जानकारी दिए। उनका अनुसार बाढीपहिरोले बेपत्ता र विस्थापित हुनेको संख्या पनि उल्लेख्य छ।

ज्यान गुमाउनेमा सबभन्दा बढी पूर्वी जिल्लाका छन्। पूर्वका चार तराई जिल्ला सप्तरी, सुनसरी, मोरङ र झापा तथा पहाडी जिल्लाहरू तेह्रथुम र पाँचथरमा मात्र अहिलेसम्म १८ जनाको ज्यान गएको छ। बाँकी मध्य र पश्चिम क्षेत्रका छन्।

गृह मन्त्रालयका अनुसार सबभन्दा बढी सुनसरीको इटहरीमा ७ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाले स्थानीय बूढी खोलामा पानीको सतह बढ्दा केही केटाकेटीसहित सात जनाको शव फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख डिआइजी रमेश भट्टराईले जानकारी दिए।

त्यस्तै, झापामा ४, मोरङ ३, सिन्धुली ४, पाँचथर ३, बाँके ३ र बारा, दाङ, सर्लाही, पाल्पा तथा बर्दियामा १/१ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उद्धार तीव्र पार्न र बाढीपीडितलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिए पनि प्रभावकारी हुन सकेको छैन। बाढीप्रभावित क्षेत्रमा स्थानीयको बिजोग छ। पूर्व–पश्चिम राजमार्ग ठाउँठाउँमा भत्कँदा सवारी आवागमन ठप्प भएको छ।