अछाम। अछाममा यो वर्ष खाद्यान्न अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा संस्थानले अछामका लागि निश्चित गरेको चामलको कोटा अपुग हुने देखिएको हो ।

आर्थिक वर्षको पहिलो एक हप्तामै २०० कुईन्टल भन्दा बढी चामल संस्थानवाट बिक्रि भईसकेको भन्दै शाखा प्रमुख राम बहादुर बमले यो वर्षका लागि अछाममा ५ हजार कुईन्टल चामल आवस्यक पर्नसक्ने बताउनुभयो ।

बिशेषगरी मंगलसेनमा रहेको संस्थानको गोदामवाट मंगलसेन नगरपालिका र आसपासका क्षेत्रवाट दैनिक ४० देखी ५० जनाको संख्यामा स्थानिय चामल लिन आउने गरेको शाखा प्रमुख बमले बताउनुभयो ।

२०० कुईन्टल कारागार तथा सम्भावित दैबी प्रकोपका लागि मौज्दात राख्नुपर्ने भएकाले नयाँ चामल नआउञ्जेल वितरण नगरिने शाखा प्रमुख बमको भनाई छ ।

यो वर्ष नेपाल खाद्य संस्थानले अछामका लागि १ हजार कुईन्टल चामलको कोटा निर्धारण गरेको छ । गत वर्षभन्दा यो वर्ष जिल्लामा खाद्यान्न उत्पादनमा पनि कमी देखिएकाले चामलको माग बढ्ने समेत अनुमान गरिएको छ । हिउदे बाली गहुँ भित्र्याउनै लाग्दा असिनापानीले जिल्लाका अधिकाँश ठाँउमा नोक्सानी पुर्याएको थियो ।