काठमाडौँ। नेपालमा १ सय ७ वटा ह्याचरी संचालनमा रहेको र बार्षिक झण्डै ५ करोड ७ लाख ब्रोईलर चल्ला र ५८ लाख लेयर्स चल्ला उत्पादन हुने गरेको पशु उत्पादन निर्देशनालयले जनाएको छ ।

देशमा स्थापना भएका १ सय ८ वटा फिडमिलबाट बार्षिक ६ लाख ४६ हजार मेट्रिक टन कुखुराको दाना तयारभै बिक्रिवितरण हुनेगरेको निर्देशनालयका प्रमुख डाक्टर दिनेश पराजुलीले जानकारी दिनुभयो । हाईसेक्स ब्र्राउन, नोभोजेन ब्र्राउन, एच एण्ड एन ब्राउन, हाइलाईन जातका लेयर्स तथा हब्बार्ड, मार्सल माई, अर्बोरएकर्स प्लस, कब ५०० र रोस–३०८, एसए ३१एल जातका ब्रोईलर तथा डुअल पर्पसका ईण्डिएन रिभर, लोम्यान ब्राउन जातका कुखुराका प्यारेन्टहरु आयात गरि चल्ला उत्पादन र बिक्रि वितरण हुने गरेको पराजुलीले जानकारी दिनुभयो ।

कुखुराको दानाका लागि आवश्यक कच्चपदार्थहरु सोयाविनकेक, सोयाविनमिल, फिस मिल, सनफ्लावर केक, सिसम केक, ग्राउण्डनट केक र डिआयल मस्टार्ड केक, एमिनो एसिड  फिड एडिटिभ्स, मिनरल मिक्स्चर भारत तथा तेश्रो मुलुकबाट आयात गरी स्वदेशमै उत्पादन हुने गरेको छ । अहिले चितवनसहित काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिंग, मकवानपुर, सुनसरी, रुपन्देही, कास्कि, दाङ्ग र कैलाली जिल्लाहरुमा व्यवसायिक कुखुरा पालन हुनेगरेको छ ।

काठमाडौं उपत्यकाले कुखुराको मासु उत्पादनको ४० प्रतिशत र खपतको ६० प्रतिशत हिस्सा ओगटेको छ । सरकारले कुखुरा पालनमा आउन चाहने किसानलाई समुह बनाएर निुशुल्क तालिम, कोल्ड स्टोर स्थापनाका लागि बढीमा ५० प्रतिशतसम्म सहयोग, दाना उत्पादन गर्ने उद्योगलाई दानामा मिसाईने औषधीजन्य पदार्थ आयात गर्दा लाग्ने ४ प्रतिशत शुल्क घटाएर १ प्रतिशत मात्र लिने व्यबस्था गरेको छ । किसान, व्यबसायी र सरकार समेत बर्ड फ्लुको मारमा केहीसमय अघि काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा देखिएको बर्ड फ्लुका कारण झण्डै २५ करोडको नोक्सानी भएको सरकारले बताएको छ ।

पशु उत्पादन निर्देशनालयका प्रमुख दिनेश पराजुलीले किसानको क्षतिपुर्ति बापत २१ करोड र बर्डफ्लु नियन्त्रणका लागि ४ करोड खर्च भएको जानकारी दिनुभयो । बर्डफ्लु देखिएका क्षेत्रमा धरासायी जस्तै बनेको कुखुरा उत्पादन विस्तारै शुरु भएको नेपाल पोल्ट्री ब्यवसायी महासंघका महासचिव शिवराम केशीले जानकारी दिनुभयो । अहिले देशभित्र हुने मागको ८० देखि ८५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने अवस्था आएको उहाँले बताउनुभयो । ब्यवसायीले बर्डफ्लुबाट धेरै नोक्सानी भएपनि सरकारले लागतको १५ प्रतिशतमात्रै क्षतिपुर्ति स्वरुप दिएको भन्दै क्षतिपुर्ति रकम बढाउनुपर्ने माग गर्दै आएका छन् ।

किसानको पनि गुनासो उस्तै छ । बर्डफ्लुका कारण कुखुरापालक किसान माथी उठ्न नसकेको राष्ट्रिय कुखुरापालक किसान संघका अध्यक्ष हेमचन्द्र शाहले बताउनुभयो । सरकारले पनि एउटा कुखुरा बराबर १ सय ३० रुपैंया मात्र क्षतिपुर्ति दिने हुँदा क्षतिपुर्ति लिनु र नलिनुको किसानलाई कुनै महत्व नरहने शाहको गुनासो छ । व्यवसायीले समेत ठग्छन् किसानलाई कुखुरापालनबाट फाईदा लिन नसकिएको कुखुरापालक किसानको गुनासो छ ।

ह्याचरीले मनलाग्दी मुल्य तोक्ने गरेको, रोगी चल्ला समेत किसानलाई पठाईएको, कम गुणस्तरका चल्लाबाट आशा गरिएअनुसारको उत्पादन लिन नसकिएको र दाना/आहारा तथा औषधी उपचार सेवा महँगो भएका कारण किसानले लागत मुल्य पाउन नसकेको राष्ट्रिय कुखुरापालक किसान संघका अध्यक्ष हेमचन्द्र शाहले बताउनुभयो । अहिले ह्याचरीले एउटा चल्लाको ९० रुपैंया सम्म लिनेगरेको उहाँले बताउनुभयो । मासुका लागि पालिने ब्रोइलर कुखरा ४५ देखी ५० दिन भित्रमा विक्रि गरिसक्नुपर्छ । सामान्यतया यो अबधिमा एउटा कुखुराका लागि २ सय ५० रुपैंया खर्च हुने शाहले जानकारी दिनुभयो ।

निजी क्षेत्रका अनुसार यो बर्ष कुखुराको उत्पादन घट्ने यो बर्ष कुखुरा उत्पादन झण्डै २० प्रतिसतले घट्ने भएको छ । अघिल्लो बर्ष झण्डै ६४ अर्बको कुखुराको मासु र अण्डा उत्पादन भएकोमा यो बर्ष २० प्रतिसतले घट्ने नेपाल दाना उद्योग सघका अध्यक्ष तिलचन्द्र भट्टराईले बताउनुभयो । यसरी उत्पादन घट्नुमा बर्डफ्लु लगायतको कारण रहेको उहाँले बताउनुभयो ।

गत बर्ष ८ करोड २३ कुखुरा पालिएका थिए भने यो बर्ष घटेको छ । कुखुराजन्य उत्पादनले नेपालको कुल ग्राहर्स्थ उत्पादनमा २ दशमलब ७ प्रतिसत योगदान दिदै आएको छ । तर कुखुराको दाना बनाउन कच्चा पदार्थ आयात गर्दा बर्षको झण्डै १७ अर्ब बिदेसिने गरेको छ । कुखुरा व्यवसायमा निजी क्षेत्रको ६० अर्ब भन्दा धेरैको लगानी भएको अनुमान छ । देशभर पाँचहजार भन्दा धेरै व्यवसायी रहेको र ६५ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका संघको भनाई छ ।

उज्यालो अनलाइन