काठमाडौँ। एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ ।कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको छैन ।

पश्चिमी वायुको प्रभावका कारण मनसुन पूर्ण सक्रिय हुन नसकेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वी भेगमा मनसुन सक्रिय भई धेरै स्थानमा पानी परेको छ, आज राति पनि पानी पर्नेछ, मध्य भेगमा पनि विस्तारै मनसुन सक्रिय हुँदै गइरहेको छ । नेपालको पूर्वी भेगमा गत जेठ २९ गते मनसुन प्रवेश भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा धेरै धनकुटामा ४७ र विराटनगरमा ४३ मिलिमिटर वर्षात् भएको छ ।

त्यसैगरी, धरानमा १४, भैरहवामा ३८, पोखरामा २०, लुम्लेमा ३४, जिरीमा १५, दाङमा १७ र धनगढीमा १२ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।