धादिङ । धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन्।

बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवाली सहित बोकेर पीडित किसानहरुले प्रदर्शन गरेका हुन् । पीडित किसानहरुले बाँदरले चिथोर छोडेका मकैको घोगाले माला बनाएर घाँटीमा लगाएका थिए ।

‘धपाउन गयो भने हिजोआज त मान्छेलाई नै झम्टेर आक्रमण गर्छ ।’

वर्षाैदेखि गाउँमा बाँदर आतंक मच्चिदै आएको र वर्सेनि जिल्ला प्रशशासन लगायत निकायहरुमा बाँदर नियन्त्रणको माग गर्दै आएपनि सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिएको बाँदर पीडित समूहका अध्यक्ष तिलप्रसाद लम्सालले बताए । ‘५ वर्षदेखि पटक पटक नियन्त्रण गरिदिनुस् भनेर गुहार्दै आएका छौं, आश्वासन भन्दा केही भएन ।’ लम्सालले भने ‘आश्वासनले हामीलाई भएन, जसरी हो हामीले खाने अन्नबाली जोगाइदिनु पर्यो ।’

पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि निलकण्ठ नगरपालिकाको वडा नं ९ देखि १२ सम्मका किसान र ज्वालामुखी गाउँपालिकाका किसान निकै पीडित बनेका छन् । बाँदरले न खेतीपाती गर्न दियो, न खाद्यान्न घरमा रहन दियो । घरमा पकाएर राखेको खाने कुरा समेत झिकेर खाइदियो । निलकण्ठ १० का सालिकराम लम्साल भन्छन् ‘धपाउन गयो भने हिजोआज त मान्छेलाई नै झम्टेर आक्रमण गर्छ ।’

खेतबारीमा लगाइएको धान, मकै र नगदे बालीहरु बाँदरले खाइदिने र नष्ट गरिदिएर आतंक मच्चाउने क्रम झनै बढेपछि पिडित किसानले बाँदर आतंक नियन्त्रणका लागि यस अघि पनि पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला कृषि कार्यालयलाई गुहार्दै आएका थिए ।

प्रदर्शनपछि बुधबार पनि प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई निवेदन दिँदै बाँदर पीडित किसानले आफ्नो खेतबारीको अन्नबाली, फलफुल र तरकारी संरक्षणको माग राखेका छन् ।

बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएका कारण कतिपय गाउँ बजारबाट किनेर ल्याइएको अन्नमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना भएको किसानको गुनासो छ । बाँदर आतंकले कृषि उत्पादन सबै नष्ट भएको कारण बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासन गुहार्नु परेको स्थानीय नवराज दुवाडीले बताए ।

गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न समेत खाइदिन थालेपछि किसान हैरान छन् । किसानले बाँदर आतंक नियन्त्रण गर्न प्रभावकारी बिधि खोजीदिन वा बाँदरले पुर्याएको क्षतीपुर्तीको व्यवस्था मिलाउन प्रशासन, वन कार्यालय र कृषि कार्यालय समक्ष आग्रह गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् ।

नागरिक न्यूज बाट

तस्विर  : नागरिक न्यूज