
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपालमा आलुको आयात बर्सेनि बढ्दै गएको पाइएको छ । पूर्वमा उत्पादन हुने कृषिजन्य उत्पादनजस्तै आलु पनि विगतमा भारतलगायत मुलुकमा निर्यात हुने गर्थ्र्यो ।
तर, ४ वर्षयता आलुको निर्यात ठप्प छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्ष ०७३÷०७४ को वैशाख मसान्तसम्ममा मात्र यो नाका भएर ६२ करोड रुपयाँ बराबारको आलु आयात भएको छ ।
वैशाखपछि बर्खाको समयमा आलुको आयात अझै बढ्ने देखिएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा १ अर्ब ११ करोड ९२ लाख रुपैयाँ मूल्य बराबरको ५५ हजार ९ सय ६० मेट्रिक टन आलु भारत, बंगलादेश, भुटानलगायत मुलुकबाट आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा १ अर्ब ७७ करोड ६७ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको ९२ हजार ७ सय १२ मेट्रिक टन आलु आयात भएको थियो । नेपालमा उत्पादित आलुले माग धान्न नसकेकै कारण आलुका लागि नेपाल परनिर्भर बनेको क्वारेन्टाइन अधिकारी बताउँछन् ।
यो नाकाबाट भित्रिएको आलु राजधानीसहित भैरहवा, विराटनगर, वीरगन्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको कार्यालयका प्राविधिक सहायकसमेत रहेका साहको भनाइ छ ।