मोरङ। सरकारी नोकरी कसलाई खान मन हुँदैन र तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ ।

माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गरेका मधुमल्ला–९ का कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालन गरिरहेका छन्

सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशुपालन गरिरहँदा थप प्रोत्साहन मिलेको छ । उहाँका अनुसार १२ वर्ष काम गर्दा ३६ वर्षीय आचार्यलाई सरकारी जागिरबाट सामान्य तलव मात्र प्राप्त भयो । उनी भन्छन , “विद्यार्थीलाई पढायो, घर आयो हैरान ।”

सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० देखि रु. २४ हजार ४०० तलब आउने जागिरबाट राजीनामा दिएर गाईको पालन थालेको बताए ।

गाईपालन सुरु गरेका दिनमा उहाँलाई घाँसपानी, कुडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्न सफल भए ।

अहिले दैनिक ८०/९० लिटर दूध उत्पादन गर्दै आएका आचार्य १५/२० लिटर दूध गाउँ मै बेच्छन । बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्छन । दैनिक रु. चार हजारको दूध बेच्छन् ।

यतिखेर खर्च कटाएर मासिक रु. ७५ देखि ८० हजार बचत हुने गरेको आचार्यको भनाइ छ । उनको गोठमा अहिले नौ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सात वटा बाछाबाछी छन् ।

प्रत्येक चार महिनामा छ ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएका आचार्यले प्रतिट्र्याक्टर रु. तीन हजारका दरले गोबर मल बेच्छन ।