चितवन । चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा २०० बिघा बढीमा केराखेती विस्तार भएको हो। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिघामा केराखेती गरिएकोमा अहिले यो दुई हजार ६२० बिघा पुगेको छ।

‘राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, पन्तले भने– प्लटिङले केराखेती योग्य जमिन घटदै गएको।’ १०० बिघाभन्दा बढी जमिनमा केराखेती मासेर प्लटिङ भइ सकेको पन्तले बताए। जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो ।

‘गत वर्ष करिब एक अर्ब रुपैयाँको केरा बिक्री भएको छ, अध्यक्ष पन्तले भने। त्यसमध्ये २५ करोड रुपैयाँ किसानलाई नाफा भएको उनल जानकारी दिए। जिल्लामा सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गरेका छन्। उनले बर्षको दुई करोड रुपैयाँको कारोबार गर्दै आएका छन्।

रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन्। एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेतीमा किसान लोभिएका अध्यक्ष पन्तको भनाइ छ। कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केराखेती समेत समावेश यसको अझै संभावना बढ्ने उनको भनाइ छ।

रोग निरोधक टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका बिरुवा सरकारले दिनु पर्ने माग समेत किसानको माग छ। चितवनमा उत्पादित केरामध्ये ६० प्रतिशत राजधानी लगायत बाहिरी जिल्लामा जाने गरेको छ।