पर्वत । पाङराङ– ८ का पूर्णबहादुर कुँवरलाई यतिबेला सुन्तला विक्री गर्न भ्याई नभ्याई छ । विसं २०६२ देखि व्यावसायिक रूपमा सुन्तला खेती शुरू गरेका कुँवरले अहिले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् ।
सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका कुँवरले वर्षेनि आम्दानी बढाउँदै लगेका छन् । २०७० सालमा २ लाख, २०७१ मा ३ लाख र अघिल्लो वर्षमा उनले ४ लाख आम्दानी गर्न सफल भएका छन् । एउटा बोटबाटै सुन्तला राम्रो फलेमा ५ हजारसम्म आम्दानी गर्न सकिने उनी बताउँछन् ।
यस वर्ष ८० रोपनी क्षेत्रफलमा लगाएका १ हजार ५ सय बोटमध्ये ६ सय बोटमा सुन्तला फलेको छ । सुन्तलाका बिरुवा बढी भएका कारण गतवर्षको तुलनामा यस वर्ष बढी सुन्तला फलेको उनले बताए । यस वर्ष ५ लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए । सुन्तला केही मात्रामा पाकिसकेका छन् भने केही पाक्ने क्रममा छन् । अब सुन्तला सबै टिपेर केही समय राख्ने र विक्रीका लागि लैजाने उनले बताए ।
उनलाई जिल्ला कृषि विकास कार्यालयले पनि साथ दिएको छ । सुन्तलामा लाग्ने रोग, त्यसको पहिचान र समाधानका विषयमा उनलाई कार्यालयले तालीम दिएको छ । उनले जिल्ला कृषि विकास कार्यालयबाट हालै राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् ।
सुन्तला उत्पादन भए तापनि बजारसम्म पुर्‍याउन बाटो र बजार अभावका कारण सुन्तला विक्रीमा समस्या परेको उनी बताउँछन् । यातायात असुविधाका कारण जिल्ला सदरमुकामसम्म सुन्तला लैजान समस्या पर्ने गरेको बताए । सुन्तला विक्रीका लागि उनले सदरमुकाम कुश्मा र काठमाडौंको कालिमाटी लैजाने गरेको बताए ।सदरमुकाम कुश्मासम्म जेनतेन लगेपछि ३५ हजार ढुवानी खर्च तिरेर काठमाडौं लैजाने गरेको उनले बताए । बजारमा पुर्‍याएपछि पनि उचित मूल्य नपाउँदा आफू निराश हुने गरेको उनले बताए । गतवर्ष बोटबाटै प्रतिकिलो ४० रूपियाँमा विक्री गरेका उनले यस वर्ष लागत बढेको हुँदा मूल्य पनि बढ्नुपर्ने उनको भनाइ छ ।
कृषि विकास कार्यालयले भने कृषकले उत्पादन गरेको सुन्तलालाई प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत ढुवानीमा छुट दिने तयारी गरेको कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।कार्यालयले पाङराङसहित बाँसखर्क, शालिजा, देउपुर, धाइरिङलगायत गाविसलाई पकेट क्षेत्र घोषणा गरेर कृषकलाई मल, क्यारेट, औषधि, बिरुवा दिई सहयोग गरिरहेको रेग्मीले बताए । जिल्ला कृषितर्फ आकर्षित गर्न कार्यालयले विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।