बारा। सरकारी स्वामित्वमा रहेको वीरगन्ज चिनी कारखाना बन्द भएपछि निराश बनेका उखु किसान बाराको मनहर्वा–५ श्रीपुरमा रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालि स्थापना भएपछि फेरि उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
२०५९ सालमा स्थापना भएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिको हाल ३० लाख क्वीन्टल उखु क्रसिङ गर्ने क्षमता छ ।
स्थापनाको पहिलो वर्ष ५० देखि ६० हजार क्वीन्टल उखु क्रसिङ गर्ने गरेकोमा किसानहरू उखुबालीतर्फ आकर्षित हुन थालेपछि गएको वर्ष १८ लाख ३३ हजार क्वीन्टलभन्दा बढी उखु क्रसिङ गरेको कारखाना प्रबन्धक राजेशकुमार पाण्डेले बताए ।
पाण्डेका अनुसार यसवर्ष उखुखेती पनि बढेकाले २० देखि २१ लाख क्वीन्टल उखु क्रसिङ हुने अनुमान छ । यस वर्ष पनि उखु क्रसिङका लागि कारखानामा सबै तयारी पूरा भएको जानकारी दिँदै प्रबन्धक पाण्डेले उखुमा परिपक्कता आएपछि क्रसिङ सुरु गरिने बताए ।
अहिले कारखानाको सबै मर्मत सम्भार गरिसकिएको र क्रसिङ सुरु गर्नुभन्दा अगाडि चार पटकसम्म परीक्षण गरिएकाले कुनै समस्या नहुने उनको भनाइ छ ।
कारखानाले आफ्नै करिब १६/१७ बिगाह क्षेत्रफलमा उखुबाली लगाएको छ । उखु नगदेबाली भएकाले यसले किसानलाई कम समयमै आर्थिक लाभ दिने गर्छ ।
उखु उत्पादन गर्ने किसानलाई चिनी मिलले अन्तरवाली लगाउनसमेत प्रोत्साहन गर्दै आएको पाण्डेले बताए । उनका अनुसार अन्तरबाली उत्पादनका लागि धनियाँ, चना, मटर, तोरीलगायतका बीउ–बिजन निःशुल्क वितरण गरिएको छ ।अन्तरबालीबाट किसानले एक वर्षमा उखुमा लगाएको ८० प्रतिशत लागत उठाउन सक्नेछन् । अन्तरबालीअन्तर्गत धनियाँ, तोरी, चना, मटरजस्ता बाली लगाएमा एक वर्षमा उखुमा लागेको लागत उठ्ने कारखाना प्रबन्धक पाण्डेले दाबी गरे ।
उखु किसानलाई प्राविधिक परामर्शका लागि रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले १८ वटा सेवा केन्द्रमा कृषि प्राविधिक (जेटीए) खटाएको छ । उनीहरूले उखुबाली लगाउने तरिका, रोग र कीरा तथा त्यसको उपचार र किटनाशक विषादीका बारेमा किसानलाई परामर्श दिने गरेका छन् ।
उखु खेतीमा आकर्षण बढाउन र प्रविधिमैत्री खेतीका लागि इन्डस्ट्रिजले एक पटकमा एक सय जनासम्म उखु किसानलाई भेला गरेर परामर्शसमेत दिने गरेको छ । उद्योगले यसपटक करिब १२ स्थानमा उखु संकलन केन्द्र राख्ने योजना बनाएको छ । गत वर्ष १ सय २० दिनमा उखु क्रसिङ गरिसक्ने लक्ष्य लिएकोमा ९० दिनमै सकिएको थियो । यस वर्ष पनि मूल्य निर्धारण भएलगत्तै उखु क्रसिङ थालिने उद्योगले जनाएको छ ।