
झापा । साना किसान चिया व्यवसायी सङ्घ नेपाल झापाले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष पुर्णकुमार कार्कीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडमा ५६ दिनसम्म शान्तिपूर्ण धर्ना गर्दा समेत कसैले माग सुनुवाइ गर्न चासो नदेखाएकाले मङ्सिर ७ बाट १३ दिनसम्म काठमाण्डौंस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा धर्ना दिइने जानकारी दिए ।चियाको उचित मूल्य नपाएको भन्दै किसानहरूले पटक–पटक आन्दोलन गर्दा समेत आफुहरुको मागलाई टार्ने काम भएकाले अब माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।
पछिल्लो समयमा आफुहरुले दुई सुत्रीय माग राखेर आन्दोलन गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिए ।उनका अनुसार २०७१ साल असार १ गतेदेखि क्षेत्रीय कार्यालयलाई हरियो पत्तिको मूल्य निर्धारणको जिम्मा दिएदेखि हालसम्मको सबै लिखतहरुको न्यायिक अनुसन्धान गर्न उच्च स्तरीय जाँच बुझ आयोग गठन हुनुपर्ने माग गरिएको छ ।
त्यसैगरी साना किसान झापाली चिया व्यावसायी सङ्घले झापाका हल्दिबारी र बाहुनडाँगीमा निमार्ण गरिरहेको सहकारी चिया कारखानालाई दिने भनेको ५० प्रतिशत रकम एक मुष्ठरूपमा यसै आर्थिक वर्ष भित्र उपलब्ध गराउनुपर्ने रहेको छ ।
झापाको हाल्दिबारीमा ८ करोड ३४ लाख र ७ करोड ९७ लाख रुपैंयाको लागतमा सरकारी चिया कारखाना निर्माणधिन अवस्थामा रहेको छ । बाहुनडाँगीमा ७ करोड रुपैयाँ बढीको लागतका सहकारी चिया कारखाना निर्माणाधिन अवस्थामा रहेको कार्कीले बताए ।
उनले आफुहरुलाई सरकारले ५० प्रतिशत अनुदानदिने बताए पनि हालसम्म एकमुष्ठ रकम नहुँदा सामान खरिद गर्न समस्या भएको बताएका छन् । उनीहरूले आफुहरुको माग सम्बोधन गर्न सरकारले अनाकाहानी गरेमा कडा सर्घषमा उत्रने चेतावनी समेत दिएका छन् ।