
कैलाली । कृषिमन्त्री गौरीशङ्कर चौधरीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत ७५ ओटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अघि बढेको बताएका छन् ।
पब्लिक मिडिया क्लबद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सुपर जोन कार्यकमका लागि दशवर्षीय कार्यनीति तय भएको र यसका लागि रू. एक खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्य रहेको बताए । बसौटी, उदासीपुर, मसुरिया र पहलमानपुरलाई सुपर जोनका रूपमा राखिएको छ भने पकेट ब्लकमा धान खेती हुने हसुलिया, रतनपुर, पहलमानपुर, पवेरा र फूलबारीलाई लक्ष्य बनाइएको छ । माछापालन क्षेत्रका रूपमा गदरिया गाविसलाई राखिएको छ । यसका लागि काम शुरु भइसकेको छ । यसै बर्ष एक हजार प्राविधिकलाई करार सेवामा नियुक्त गरी प्रत्येक गाविसमा खटाउनका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री चौधरीको भनाइ छ ।