जयपुर (राजस्थान) । योगा गुरु रामदेवले प्रवर्द्धन गरेको पतञ्जलि आयुर्वेदले भारतको राजस्थानमा मेगा फूड पार्क निर्माण गर्ने भएको छ । डेरी तथा मसला उत्पादनमा हात हाल्ने तयारीमा रहेको पतञ्जलिले राजस्थानलाई आफ्नो यात्रामा समावेश गर्ने चाहना राखेको बताइएको छ । पतञ्जलिले राजस्थान तथा अन्य राज्यबाट मसला खरीद गरेर त्यसलाई प्रशोधन गर्ने कार्य गर्ने रामदेवले बताएका छन् । यसका साथै कम्पनीले गाईको दूधसमेत उपलब्ध गराउने उनलेअगाडि थपे ।
कम्पनीले आगामी वर्षदेखि राजस्थानबाट दूध खरीदको योजना बनाएको छ । ‘हामीले पर्याप्त मात्रामा दूध पाएको खण्डमा हामी अमूललाई पनि पछाडि पार्न सक्छौं,’ रामदेवले भने । यद्यपि, अमूलसँग आफ्नो कुनै प्रतिस्पर्धा भने नभएकोमा उनले जोड दिएका छन् । उनले राजस्थानका किसानलाई घ्यूकुमारी, अश्वगन्धा, गोसवेरी जस्ता हर्वल उत्पादनहरू बढाउन आग्रहसमेत गरेका छन् । उनले उत्पादित वस्तुहरू बढी मात्रामा कम्पनीले खरीद गर्नेसमेत बताए । रासस/पीटीआई