म्याग्दी। जिल्लाको उत्तरी भेगमा भेडापालक किसानका लागि यो बर्ष सरकारले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जिल्ला पशु सेवा कार्यालय मार्फत कालिगण्डकी करिडोरका भेडाबाख्रा पालक किसानलाई सहयोगका लागि उक्त बजेट आएको हो। भेडापालनलाई थप व्यवसायिक बनाई जिल्लालाई उन र मासुमा आत्मनिर्भर गराउन सहयोग गर्ने उद्देश्यले पशु उत्पादन निर्देशनालय र केन्द्रीय भेडाबाख्रा प्रवर्धन कार्यालय मार्फत आएको उक्त कार्यक्रम मार्फत जिल्लाको उत्तरी भेगका भेडापालक कृषक लाभान्वित हुनेछन्।
जिल्लाका भेडापालक किसानहरुलाई लक्षित गरी पहिलो पटक आएको उक्त कार्यक्रमलाई उत्तरी भेगका भेडाबाख्रा पालक किसानहरु आबद्ध रहेको कालिगण्डकी करिडोर भेडापालक स्रोत विकास समिति मार्फत परिचालन गर्न लागिएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिए। उनका अनुसार जिल्लाका भेडापालक किसानहरुलाई तीन करिडोरमा विभाजन गरिएको छ। पहिलो बर्ष प्राप्त कार्यक्रमलाई उत्तरी १० गाविसका किसानहरु आबद्ध कालिगण्डकी करीडोरमा कार्यान्वयन गर्न लागिएको हो।
कार्यक्रमबाट भगवती, बेगखोला, दोबा, दाना, भुरुङतातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाविसका भेडापालक कृषकहरु लाभान्वित हुने अधिकृत बानियाँले जानकारी दिए। ‘‘यस क्षेत्रमा ५० जना कृषक भेडापालनमा आबद्ध छन्, उनीहरुको हाल ८ हजार ३८१ वटा भेडा रहेका छन्, किसानहरुलाई प्रत्यक्ष राहत पुग्ने गरी भेडापालनलाई थप व्यवस्थित र व्यवसायिक बनाउने गरी कार्यक्रम परिचालन हुन्छ’, उनले भने।
कार्यक्रम मार्फत घुम्ती गोठ बासस्थान टहरा निर्माण, पोखरी निर्माण, उन संकलन तथा बिक्री केन्द्र स्थापना, राडी पाखी माड्ने मेसिन सहयोग जस्ता कार्यक्रम समेटिएको छ। त्यसैगरी किसानहरुलाई भेडाको गोठ मर्मत सुधार, भेडाको तौल लिने डिजिटल मेसिन सहयोग, उन काट्न चर्खा वितरण, परिजिवि नियन्त्रणको लागि ट्याङ्की निर्माण, लगायतको सहयोग गरिने पशु सेवा प्राविधिक डिल्लिराम रेग्मीले जानकारी दिए।