सिन्धुली। सिन्धुलीमा व्यावसायिक मौरीपालक किसानको संख्या बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेसँगै मौरीपालन गर्नेको संख्या बढ्दै गएको हो । मौरीपालनबाट श्रमअनुसारको आम्दानी हुने किसानहरू बताउँछन् ।
कतिपय किसानले वार्षिक ६५ देखि ७० घार मौरी बिक्रीसमेत गर्ने गरेका छन् । एक घार मौरीले वर्षमा १५ केजीसम्म मह उत्पादन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अरू व्यवसायको तुलनामा मौरीपालन सजिलो हुने १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका भिमान डाँडाटोलका किसान जीवनाथ बरालले बताए । “आपूmले बनाएको आधुनिक मौरीका घार धनकुटा, इलाम, भोजपुरलगायतका जिल्लामा बिक्री गर्ने गरेको छु,” बरालले भने ।
बरालले वर्षमा ६० भन्दा बढी घार बनाउने गरेका छन् । मागअनुसार जति पनि घार बनाउन सकिने उनी बताउँछन् । उनले घार निर्माणसँगै व्यावसायिक मौरीपालन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।मौरीपालनबाट एकपटकमा ५० देखि ६० केजी मह निकाल्ने गरेको उनले बताए । अहिले बजारमा मह एक किलोको चार सयदेखि पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले मौरीपालन किसानका लागि विभिन्न सहयोग गर्दै आएको छ । कार्यालयका अनुसार गत वर्ष मौरीसहितको ५० वटा आधुनिक घार वितरण गरिएको छ भने यो वर्ष ९ वटा आधुनिक घार वितरण भइसकेको छ ।
मौरीपालक किसानका लागि आधुनिक घार निकै प्रभावकारी भएको जिल्ला कृषि विकास कार्यालयका सिन्धुलीका बाली संरक्षण अधिकृत विजय मण्डलले बताए । सिन्धुलीका झन्डै ७ सय किसानले व्यावसायिक मौरीपालन गर्दै आएको कृषि विकास कार्यालयले जनाएको छ ।