डडेल्धुरा।डडेल्धुरामा उत्पादन गरिने कृषि तरकारीको बीउको मूल्य निर्धारण गरिएको छ ।बीउ व्यवसायी र किसानबीच बजार व्यवस्थापनसम्बन्धी गरिएको अन्तरक्रियामा तरकारीको बीउको मूल्य निर्धारण गरी खरिद बिक्री गर्ने दुई पक्षीय सम्झौता गरेको छ ।
डडेल्धुरामा उत्पादित सिमी प्रतिकिलो १६०, भिण्डी १२०, बोडी २००, केराउ १२०, मूला २१०, चम्सुर १५०, रायो, पालुंगो, धनिया र स्विसचार्ड २०० रुपैयाँ तोकिएको छ । यसैगरी सलगम २५०, र मेथी १५० रुपैयाँ प्रतिकिलो कृषकबाट व्यवसायीहरूले खरिद गर्ने गरी मूल्य तोकिएको हो ।
पुरानो मूल्यभन्दा नयाँ मूल्य ६ प्रतिशतले वृद्धि गरिएको छ । बजार मागलाई मध्य नजर गर्दै यो वर्ष सिमी २० हजार किलो, भिण्डी ५ सय, बोडी १ सय, केराउ १५ हजार, मूला ७ हजार, चम्सुर २ हजार, रायो १ हजार, पालुंगो २ हजार, धनिया ५ सय, सलगम १ सय, प्याज ५ सय, स्विसचार्ड १ सय र मेथी ५ सय किलो उत्पादन गर्ने लक्ष्य लिइएको छ ।यो गत वर्षभन्दा भण्डै दोब्बरले वृद्धि हो । डडेल्धुरामा उत्पादन गरिने बीउको बजार माग बढी भए पनि उत्पादन गर्न नसकिएको कार्यक्रममा जानकारी गराइएको थियो ।डडेल्धुरामा विगत केही वर्ष यतादेखि किसान र व्यवसायीबीच बीउ खरिद बिक्री गर्ने सम्झौता उत्पादन अगावै निर्धारण गरिने भएकाले कृषकले ढुक्क भएर बीउ उत्पादन गर्ने गरेका छन् ।
डडेल्धुरामा उत्पादन भएको बीउ भारत, बंगलादेश, भुटानलगायतका देशमा निर्यात हुँदै आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले आयोजना गरेको कार्यक्रममा बीउको उत्पादन बढाउन कृषकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आंैल्याइएको छ । बीउ राम्रो भए उत्पादन १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।
गतवर्ष डडेल्धुराबाट लगभग ५२ मेट्रिक टन बीउ निर्यात गरी झण्डै १ करोड ३० हजार रुपैंयाँ भित्रिएको थियो । बीउको बजारमाग झण्डै दोब्बर भए पनि किसानले उत्पादन गर्न नसकेको डडेल्धुरा कृषक सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाले बताए ।
कार्यक्रममा तरकारी बीउ बिजन केन्द्र डडेल्धुराका प्रमुख ताराप्रसाद भण्डारीले मिसावटरहित बीउ उत्पादन गर्नसके डडेल्धुरालाई बीउ उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने र कृषकले बीउ उत्पादनबाट मनग्य आम्दानी गर्नसक्ने जनाएका थिए ।