हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा खेती गरिएको किवी स्वाद तथा पौष्टिक तत्वका हिसावले उत्कृष्ट रहेको बताइएको छ । उद्योग वाणिज्य सङ्घले किवी खेतीको विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले अन्तरराष्ट्रिय गुणस्तरको किवी खेती मकवानपुरमा गरिएको बताएका हुन् ।
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहानगर र नामटारमा भइरहेको किवी खेतीको विषयमा छलफल गरिएको हो । सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जाईका नेपाल कार्यालयका प्रबद्र्धनकर्ता ताकेसी होण्डा, सुसुमु निसिको सहभगिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ कार्यक्रम अधिकृत गणेश शाक्यले किवी खेती तथा यसको व्यवसायिक प्रबद्र्धनका विषयमा सहजीकरण गरेका थिए ।
मउवासङ्घका कार्यालय सचिव तथा एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्यसचिव विवेक मानन्धरले मकवानपुरमा किवी खेतीको हालसम्म भएका प्रयास, चुनौतीका बारेमा जानकारी गराए । जिल्ला कृषि कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले किवी खेतीका लागि कार्यालयले प्राविधिक सहयोग गरिरहेको बताए । सङ्घका उपाध्यक्ष कृष्णकुमार अग्रवालले ग्रामीण क्षेत्रमा उत्पादन गरिएको अर्गानिक किवी अन्तरराष्ट्रिय बजारमा लैजान सकिने बताए ।
एक गाउँ, एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा व्यवसायिक किवी खेती शुरु गरिएको हो । बज्रबाराहीका कृषक माधव सुबेदीले आफ्नो कृषि फर्ममा बिभिन्न ६ जातका किवीको १० हजार बिरुवा उत्पादन गरेका छन् । सुवेदी बज्रबाराहीमा किवी खेती गर्ने पहिलो किसान हुन् ।