गोरखा। नेपाल खाद्य संस्थानको  सिर्दिबासको फिलिम र माछाखोला गोदाममा तीन वर्षदेखि चामल पुगेको छैन ।
हिमालपारिका सात र वारिका पाँच गाविसका लागि भनेर प्रत्येक वर्ष पाँच हजार क्विन्टलभन्दा धेरै चामल आउँछ तर विगत तीन वर्षदेखि उक्त स्थानमा चामल ढुवानी नभएको खाद्य संस्थान गोरखा गोदामले जनाएको छ । हिमाली भेग भएकाले स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने र खाद्य संस्थानको चामल ढुवानी नभएपछि खाद्यान्न अभाव भएको छ ।
२०७१÷०७२ को कोटाको पाँच हजार क्विन्टल चामल भूकम्पका कारण बाटो अवरुद्ध भकाले आरुघाट र आर्खेत पुर्‍याएर सदरमुकाम नै फिर्ता गरिएको थियो । २०७२÷०७३ को सोही परिमाणको कोटाको चामल पनि बाटोको समस्याका कारण ढुवानी गर्न नसकेको ठेकेदार धनकुमार गुरुङ बताउँछन् । यस वर्षको चामल ढुवानी गर्न दरभाउको किचलोका कारण दुई पटकसम्म ठेक्का रद्द भएको खाद्य संस्थान गोरखा शाखाका प्रमुख टेकप्रसाद रेग्मी बताउँछन् ।
चामल ढुवानीका लागि पहिलोपटक ठेक्का पाएको गंगा जमुना निर्माण सेवाले तोकिएको समयभित्र सम्झौता नगरेपछि तीन लाख रुपैयाँ धरौटी जफत गरी ठेक्का रद्द गरिएको रेग्मीले बताए । दोस्रोपटकको ठेक्का प्रचलितभन्दा महंगो दरभाउमा परेकाले नेपाल खाद्य संस्थानको मूल्यांकन समितिले स्वीकृति नदिएको रेग्मीले जानकारी दिए ।
‘लामो समयदेखि फिलिम र माछाखोला डिपोमा कोटाअनुसारको चामल ढुवानी गर्न सकिएको छैन’, रेग्मीले भने, ‘माछाखोलामा दुई हजार क्विन्टल र फिलिममा तीन हजार क्विन्टल चामल पुर्‍याउनुपर्ने हो तर एक दाना पनि पुर्‍याउन सकिएन ।’ उक्त क्षेत्रमा खच्चडबाट चामल ढुवानी गर्न खाद्य संस्थानले ढुवानी अनुदान दिने गर्छ ।
दसैंको मुखमा दुर्गममा चामलको अभाव भएको गुनासो बढेपछि केयर नेपाल, सेभ दी चिल्ड्रेन र अक्सफाम नामका आईएनजीओको सहयोगमा हेलिकोप्टरबाट चार सय क्विन्टल चामल ढुवानीको प्रक्रिया अघि बढाइएको थियो तर हेलिकोप्टर नपाउँदा निर्धारितमध्ये एक सय १९ क्विन्टल चामल मात्र सिर्दिबास पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाए ।
जिल्ला प्रशासन कार्यालयको आग्रह र एनजीओ महासंघको समन्वयमा अक्सफामले ३० क्विन्टल र सेभ दी चिल्ड्रेनको सहयोगमा ८९ क्विन्टल चामल ढुवानी गरिएको प्रजिअ भट्टले बताए । उनका अनुसार केयर नेपालले सदरमुकामस्थित खाद्य संस्थानबाट धादिङको सल्यानटारसम्म २ सय ८१ क्विन्टल चामल ढुवानीमा सहयोग गरेको थियो । दसैंका लागि हेलिकोप्टरबाट आकस्मिक रूपमा थोरै चामल पुर्‍याए पनि बाँकी चामल आरुघाट र सदरमुकाममै अलपत्र छ ।
तीनवटा संस्थाको सहयोगमा चामल ढुवानीका लागि रकम संकलन भए पनि हेलिकोप्टर अभावले निर्धारित चामल ढुवानी गर्न नपाइएको गैरसरकारी संस्थाका अध्यक्ष सीताराम श्रेष्ठले बताए ।