सुर्खेत । नेपाल खाद्य संस्थानले उपभोक्ताको मागलाई दृष्टिगत गरी पहिलोपटक काठमाडौंपछि सुर्खेतमा सहुलियत मूल्य चामल ल्याएको हो । सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यको चामल विक्री शुरू गरिएको संस्थानले जानकारी दिएको छ । दशैं, तिहार, छठजस्ता पर्वलक्षित सहुलियत दरको सुपथ मूल्य पसलबाट यहाँका उपभोक्तालाई केही राहत पुग्ने संस्थानका सुर्खेत प्रमुख भीम थापाले बताए । आमउपभोक्ताको हितलाई ध्यानमा राखी सार्वजनिक बिदाबाहेक बिहान ७ देखि बेलुका ६ बजेसम्म चामल विक्रीवितरण भइरहेको छ । सहुलियत मूल्यको चामल प्रतिव्यक्ति बढीमा दुई बोरासम्म खरीद गर्न पाइनेछ ।
संस्थानले सुर्खेतमा चार प्रकारका सहुलियत मूल्यका चामल ल्याएको छ । जिरा मन्सुली, अरुवा सोना मन्सुली, अरुवा मकवानपुर र बङ्गलादेसी उसिना रहेका छन् । ती सबै चामलमा प्रतिक्वीण्टल ५ प्रतिशत छूट गरिएको छ । सुर्खेती बजारमा प्रतिकिलो ८० रुपैयाँमा विक्री भइरहेको जिरा मन्सुली चामल संस्थानले ५८ रुपैयाँमै विक्री गरिरहेको छ । संस्थानका अनुसार अरुवा सोना मन्सुली प्रतिकिलो ४० रुपैयाँ ७० पैसा, अरुवा मकवानपुर ३६ रुपैयाँ ७७ पैसा र बङ्गलादेसी उसिना ३५ रुपैयाँ ८७ पैसामा विक्री भइरहेको छ ।
संस्थानले सहुलियत दरको चामल आगामी छठपर्वसम्म मात्र विक्री गर्ने जानकारी दिएको छ । सुर्खेत शाखा प्रमुख थापाले सहुलियत दरको सुपथ मूल्य पसल असोज २ गते बाट शुरू गर्ने भनिए पनि केन्द्रबाटै स्वीकृति ढिलो आउँदा गत मङ्गलवारदेखि विक्रीवितरण गरिएको बताए । सुर्खेत शाखामा हाल सहुलियत मूल्यको १५ हजार क्वीण्टल चामल मौज्दात छ । ‘उपभोक्ताको माग आएपछि थप चामल मगाउन कुनै कठिनाइ छैन,’ उनले भने, ‘चाडपर्वमा जति चाहिन्छ, हामी उपभोक्ताको माग पूरा गर्न तयार छौं ।’ जिल्लाका विभिन्न स्थानमा सहुलियत मूल्य घुम्ती पसल सेवा सञ्चालन गर्ने इच्छा हुँदाहुँदै पनि प्राविधिक कठिनाइका कारण त्यसो गर्न नसकिएको उनको भनाइ छ ।