धनकुटा । धनकुटा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनेको जिल्ला पशुसेवा कार्यालयले बताएको छ । धनकुटालाई बार्षिक २ हजार २ सय ९० मेट्रिक टन मासु आवश्यक पर्ने गरेको छ ।

हाल बार्षिक ३ हजार ३४ मेट्रिकटन मासु उत्पादन हुन थालेपछि धनकुटा मासुमा आत्मनिर्भर भएको कार्यालयका डाक्टर जीवन कुमार सिंहले बताए । उनले भने ‘जिल्लामा व्यवसायिक पशुपालक कृषकको सङ्ख्या बढ्दै गएकाले मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको हो ।’

एक लाख ६३ हजार ६ सय १८ जनसङ्ख्या रहेको धनकुटामा वार्षिक प्रति व्यक्ति १४ किलोका दरले मासु खपत भई वार्षिक ७ सय ४४ मेट्रिकटन मासु बचत भइरहेको उनी बताउँछन् ।

धनकुटामा बार्षिक खसीको १ हजार २ सय ५,राँगाको ७ सय ४२, कुखुराको ६ सय २५ बङ्गुरको ४ सय ६० र माछाको २ मेट्रिकटन मासु खपत हुने गरेको पशुसेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मासु व्यवसायी सङ्घ धनकुटाको तथ्याङ्क अनुसार हाल नगरपालिका क्षेत्रमा मात्र ४४ ओटा मासु पसल र १ सय ४ मासु व्यापारीहरु रहेका छन् ।

अहिलेसम्म धनकुटा नगरपालिकाको १३ लाख ५० हजार रूपैयाँ र पशुसेवा कार्यालयको ११ लाख ५० हजार रूपैयाँ गरी मासु व्यवसायको भौतिक सुधारमा २५ लाख रूपैयाँ लगानी रहेको ती संस्थाहरुले जानकारी दिएका छन् । यद्यपी हाल मासु जाँच ऐन २०५५ अनुसार जाँच नै नगरी मासु बेचबिखन गरिँदै आएको छ ।