काठमाडौं। कृषि विकासमन्त्री गौरीशंकर चौधरीले किसानको हकहित र अधिकारलाई सुनिश्चित गर्न दुई महिनाभित्रै किसान आयोग गठन गरिने बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २४ औं वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्दै नयाँ–नयाँ योजना ल्याउने बताए ।

उनले आयोगले किसानका नीति–नियम बनाउने र उनीहरूका अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कृषि विकास मन्त्रालयले गत वर्ष मुलुकको कृषि क्षेत्रको विकासका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन विषयलाई केन्द्रमा राखेर सार्वजनिक गरेको २७ बुँदे प्रतिबद्धतामा समेत राष्ट्रिय किसान आयोग गठन गर्ने उल्लेख छ ।

मन्त्री चौधरीले न्यून लगानीबाट सुरु भएको पुष्प व्यवसायले हाल वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेकोमा खुसी व्यक्त गरे । उनले पुष्प व्यवसायीहरूलाई अन्तरराष्ट्रिय बजारको खोजी गर्न सुझाव दिँदै त्यसमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकमा पुष्प व्यवसायीले बढी मूल्यको पुष्प निर्यात गर्नु र कम मूल्यको आयात गर्नु सकारात्मक भएको बताए । “पुष्प प्याकेज तथा ढुवानी गर्न सरकारले सहयोग गर्नुपर्ने देखिन्छ,” उनले भने ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष दिलीप वादेले पुष्प व्यवसायका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उनले पुष्प व्यवसायमा स्रोत साधन, शिक्षा, सूचना, तालिम, प्रविधि र भौतिक संरचनालगायतको अभाव रहेको बताए ।