पाँचथर । अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले नयाँ उत्पादनको पाँच मन अलैंची प्रतिमन (४० केजी) ६० हजार रुपैयाँमा खरिद गरे । गत वर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा उनले अलैंची खरिद गरेका हुन् ।
पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष यामनाथ काफ्लेले पनि उत्तिनै मूल्यमा १० मन अलैंची खरिद गरेको बताए ।
गत वर्ष प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा कारोबार गरेका काफ्लेलाई यो वर्ष ५० प्रतिशत कम मूल्यमा अलैंची खरिद गर्न पनि मन लागेको छैन । मूल्य अझै घट्ने हो कि भन्ने चिन्ता अलैंची व्यवसायीको छ ।कृषकहरूले नयाँ उत्पादनको अलैंची बजार निकाल्न थालेका छन् । यो वर्ष उत्पादन भएको अलैंची फिदिम बजारमा मात्रै ५० मनको हाराहारीमा कारोबार भएको व्यापारीहरू बताउँछन् ।नयाँ उत्पादन सुरु भएसँगै अलैंचीको मूल्यमा भारी गिरावट आएपछि कृषक र व्यवसायीमा चिन्ता थपिएको हो । अलैंचीको अस्थिर मूल्यकै कारण कृषक र व्यवसायीहरू मारमा परेका हुन् । अस्थिर मूल्यको परिणामस्वरुप पाँच वर्ष यताकै कम मूल्यमा अलैंची बिक्री गर्न कृषकहरू बाध्य छन् ।
नेपालबाट निर्यात भएको अलैंचीमा मिसावट भएको र गुणस्तरमा ह्रास आएको भन्दै भारतले दोष दिएपछि मूल्यमा गिरावट आएको हो ।
अलैंची व्यवसायी महांसघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालका अनुसार विगत केही वर्ष अलैंचीको उत्पादनमा अत्यधिक ह्रास आएको थियो । कम उत्पादन भएको अलैंचीलाई पनि व्यवसायीले स्टक गरे ।यो साल स्टक राखेको र उत्पादन वृद्धि भएको अलैंची एकैसाथ बिक्री गर्न खोजिएकाले अन्तरराष्ट्रिय बजारमा प्रयाप्त मात्रामा अलैंची पुगेको छ । अन्तरराष्ट्रिय बजारको माग पूरा भएकाले पनि मूल्यमा भारी गिरावट आएको हुनसक्ने नेपालको अनुमान छ ।
पाँचथरसहित देशका ३८ जिल्लामा अलैंची उत्पादन हुन्छ । नेपालबाट वार्षिक पाँच हजार टनभन्दा धेरै अलैंची बाहिरी देश निर्यात हुने गरेको छ ।अलैंची व्यवसायी महासंघको तथ्यांकअनुसार अलैंची निर्यातबाट वार्षिक छ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको छ । जसमध्ये पाँच अर्ब रुपैया किसानको हातमा पुग्ने व्यवसायी बताउँछन् ।