नवलपरासीमा । नवलपरासीमा पछिल्लो समय दूग्ध सहकारीहरुले समेत पशुहरुको बीमा गर्न थालेका छन् ।दूग्ध सहकारीहरुले कृषि विकास बैङ्कसँगको सहकार्यमा सहकारीहरुले समेत बीमा गरेर पैसा कमाउन थालेका छन् । गत बर्षबाट आफ्नै सहकारीमार्फत बीमा गर्न शुरु गरेको दलदले दूग्ध विकास सहकारी संस्थाले २ बर्षको अन्तरालमा खर्च कटाएर ६ लाख ९७ हजार रुपैयाँ रकम आम्दानी गरेको देखिएको छ । गत बर्ष २ सय २५ ओटा गाईहरुको बीमा गरेको सहकारीले यस बर्ष २ सय २१ ओटा पशुहरुको बीमा गरेको छ । गतवर्ष खर्च कटाएर २ लाख ४६ हजार रूपैयाँ आम्दानी गरेको सहकारीले यस वर्ष बीमा गरेको पशुहरुको क्षतिपूर्ति तिरेर करीव ७ लाख रुपैयाँ खातामा जम्मा गरेको सहकारीले जनाएको छ ।
सहकारीले १४ ओटा पशुहरुको क्षतिबापतको रकम भुक्तानी दिएको छ । बीमा समितिका अध्यक्ष थान प्रसाद पंगेनीका अनुसार बीमा गरेका पशुहरु मध्ये ५ ओटा पशुहरुको मृत्यु भएको छ भने ८ पशुहरु अनुत्पादक भएका थिए । कृषि विकास बैङ्क कावासोती शाखा प्रमुख मोहदत्त पौडेलले कृषि विकास बैङ्क मार्फत बीमा कार्यक्रम सञ्चालन गर्दा पशुहरुको क्षति बापत प्राप्त गर्ने रकम प्राप्त गर्न कुनै कठिनाई नभएको र संस्था मालिक बनाउने अभियानमा रहेको बताए । उनले भने– ‘यो कार्यक्रम निकै प्रभावकारी भएको पाइएको छ, यस्तै कार्यक्रम सञ्चालन गर्नेहरुको किसानहरुको पैसा किसानहरुसँग रहन्छ र किसानहरुले झण्झट समेत व्यर्होनुपर्दैन ।’
शेयर सदस्यहरुले सहकारी आफैँले गरेको बीमाबाट पशुहरुको क्षति नभएको अवस्थामा समेत २० प्रतिशत रकम फिर्ता हुने, क्षतिपूर्ति पाउँन समेत कुनै कठिनाई नभएको बताए । सहकारीले पशुहरुको बीमा गराएर पहिलो वर्ष ६० प्रतिशत, दोस्रो वर्ष ७० र तेस्रो वर्षमा ८० प्रतिशत क्षतिबापतको रकम दिने गरेको छ भने अनुत्पादक गाईहरुको २५ प्रतिशत क्षतिपूर्ति दिने गरेको सहकारीका अध्यक्ष तोयनाथ पौडेलले जानकारी दिए । यस सहकारीमा १ सय ५६ जना शेयर सदस्यहरु रहेका छन् भने यो जिल्लाको निकै पुरानो दूग्ध सहकारी हो ।