काठमाडौँ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले कृषि उपज बजार ऐन चाँडै ल्याउन माग गरेको छ ।महासङ्घले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले कृषि उपज बजार सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कानुन अभावका कारणले बजार व्यवस्थापन गर्न समस्या परेकाले ऐन चाँडै ल्याउनुपर्ने माग गर्नुभयो ।“ऐन नहुँदा देशभरका बजार सञ्चालनमा समस्या परेको छ”, उहाँले भन्नुभयो । लामो समयदेखि मस्यौदामा रहेको ऐनलाई चाँडै ल्याएर व्यवसायलाई व्यवस्थित गर्न उहाँले माग गर्नुभयो । पत्रकार सम्मेलनमा सरकारले नयाँ बानेश्वरस्थित फलफूल तथा तरकारी बजार, बागबजारस्थित टुकुचा तरकारी बजारलाई हटाउन थालेकामा उहाँले आपत्ति जनाउनुभयो ।
बिना विकल्प नयाँ बानेश्वर र टुकुचाका फलफूल पसल हटाउँदा काठमाडौँ उपत्यकामा नै तरकारी आपूर्तिका साथै उपभोक्तालाई समस्या पर्ने भएकाले वैकल्पिक व्यवस्था गरेर मात्र हटाउनुपर्ने माग छ । तरकारी तथा फलफूल ढुवानी साधनलाई छुट्टै नम्बर प्लेट दिनुपर्ने, कृषि उपज बजारको स्वामित्व कृषि विकास मन्त्रालयको हुनुपर्ने, फलफूल तथा तरकारी विकास बोर्ड तत्काल गठन गर्नुपर्ने, व्यवसायीको वर्गीकरण गरी व्यावसायिक परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग महासङ्घको रहेको छ ।
फलफूल र तरकारीमा एकै किसिमको कर लगाउनुपर्ने घिमिरेले बताउनुभयो । एक जिल्लामा उत्पादन भएको तरकारी अर्को जिल्लामा लैजाँदा दोहोरो कर तिर्नुपरेकाले एक ठाउँमा मात्र कर तिर्ने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भारत र चीनले विभिन्न बहानामा नेपाली अदुवाको निकासी रोक लगाएकाले सरकारले निकासीको वातावरण बनाउनुपर्ने महासङ्घको माग छ ।