सिन्धुली। जिल्लामा व्यावसायिक पशुपालन गर्ने कृषकको संख्यामा वृद्धिसँगै पशु बिमा गर्ने कृषकको संख्यामा पनि वृद्धि हुँदै गएको जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ । गाउँगाउँमा कृषकले फर्म दर्ता गरी व्यावसायिक रूपमा पशुपालन सुरु गरेसँगै पशु बिमासमेत बढ्दै गएको छ । अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा पशु बिमा ४३ प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख डा. हरिकुमार रघु श्रेष्ठ बताउँछन् । कार्यालयले अघिल्लो वर्ष कृषकका ६ सय ४८ पशुको बिमा गरेको थियो भने गत वर्ष त्यो संख्या वृद्धि भएर एक हजार एक सय ३८ पुगेको छ ।पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी गरिदिन थालेपछि बिमा गर्न क्रम बढेको हो ।
आर्थिक वर्ष २०७२/७३ मा एक सय ७६ गाई, एक सय २५ भैंसी, चार सय बंगुर र चार सय ८२ बाख्राको बिमा गरिएको र १० लाख ३४ हजार ९३ रुपैयाँ प्रिमियम रकम जम्मा भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
आर्थिक वर्ष २०७२/७३ सम्ममा पशु सेवा कार्यालय सिन्धुलीमा एक सय १९ गाई फर्म, दुई सय ८२ बाख्रा फर्म, एक सय ५३ बंगुर फर्म र एक सय ६५ कुखुरा फर्म दर्ता भई सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा पशुपालन व्यवसाय प्रवद्र्धन गर्न गाई, बंगुर तथा बाख्रा पाल्ने जिल्लाका ४९ कृषकलाई ५१ लाख रुपैयाँ अनुदान वितरण गरेको थियो ।
सरकारले दिएको अनुदानका कारण ग्रामीण क्षेत्रका कृषक पशुपालनमा आकर्षित बन्दै गएका छन् । जिल्लामा बढी मात्रामा कृषकले बाख्रा पालेका छन् भने गाई र बंगुर पाल्ने कृषकको संख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।सरकारले पशुपालक किसानलाई हौसला प्रदान गर्दै व्यावसायिक पशुपालन बढाउन अगाडि सारेको पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा हुन सक्ने जोखिमबाट बच्न पशुको बिमा गराउन किसानलाई कार्यालयले आग्रहसमेत गरेको छ । सरकारबाट मान्यता प्राप्त १७ वटा बिमा कम्पनीमार्फत पशु बिमा गर्न सकिने पशु सेवा कार्यालयले जनाएको छ ।पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी गरिदिन थालेपछि बिमा गर्न क्रम बढेको हो ।