चितवन। नेपालबाट बंगुरको स्वास्थ मासु विदेश निर्यात गर्ने तयारी गरिएको छ । बंगुरको मासु पठाउने तयारी गरिएको केन्द्रीय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालयले जनाएको छ । भारतको सिक्किम, भुटान र चीन लगायतका देशमा अहिले पनि सामान्य रुपमा मासु निर्यात भइरहेको छ ।

नेपालमा पालिएका उन्नत जातका बंगुरको मासु गुणस्तरीय र स्वास्थ्यवर्द्धक पाइएपछि मासु भुटानमा निर्यात गर्न लागिएको कार्यालयका प्रमुख डा. जगदिश पाण्डेले जानकरी दिए ।

‘हामी तयारीमा धेरै कामहरु गरिरहेको छौ’, उनले भने,’कति टन लैजाने त्यसबारेमा निर्णय हुन बाँकी छ ।’ कार्यालयको तथ्यांकअनुसार आव २०६८/६९ मा १८ हजार २७७ टन सुंगुर र बंगुरको मासु उत्पादन भएकोमा २०६९/७० मा २.३६ प्रतिशतले बढेर १८ हजार ७०९ टन पुगेको थियो ।
आव २०७०/७१ मा ६.१५ प्रतिशतले वृद्धि भएर मासु १९ हजार २६९ पुगेको थियो भने २०७१/७१ मा ४.४९ प्रतिशतले बढेर सुँगुर र बंगुरको मासु उत्पादन २० हजार १३५ टन पुगेको थियो ।

केन्द्रिय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालयले यो बर्ष नेपालका विभिन्न १५ जिल्लामा बंगुर व्यवसाय सुधार कार्यक्रम सुरु गर्दै कृषकहरुलाई यो व्यवसायमा सघाउने काम सुरु भइसकेको उनले बताए ।

यसका लागि १५ जिल्लामा २ करोड १० लाख रुपैयाँको अनुदान दिन लागिएको पाण्डेले बताए । पुर्वाञ्चलमा झापा, सुनसरी र धनकुटा, मध्येमाञ्चलमा चितवन, काभ्रे र मकवानपुर, पश्चिमाञ्चलमा तनहुँ, कास्की र नवलपरासी, मध्यपश्चिमाञ्चलमा बाँके, बर्दिया, दाङ र सुर्खेत तथा सुदुरपश्चिमाञ्चलमा कैलाली र कञ्चनपुरमा कार्यक्रम लागु भएको हो । कार्यक्रम नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भएअनुसार जिल्ला छनोट गरेर काम थालिएको हो ।

अहिलेको अनुदानले बंगुर थप्न नपाइने तर त्यसको सुधारका लागि आधुनिक प्रविधि भित्र्याउन पाइने रहेको छ ।