काठमाडौँ। दूधको कारोबारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा चार लाख ५० हजार व्यक्तिले रोजगार पाइरहेककाले यसलाई व्यवसायीकरण गर्नुपर्नेमा नेपाल डेरी एसोसिएसनले जनाएको छ।

बजारमा दूधको माग दैनिक ९६ लाख लिटर भएपनि दैनिक ४८ लाख दूध उत्पादन हुने गरेकाले माग धान्नका लागि नेपाल दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसन आयात गर्न बाध्य भएको एसोसिएनका अध्यक्ष सुमित केडियाले आज आयोजित पत्रकार सम्मेलनमा बताए।

नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो दिवस सुभारम्भ गर्नुहुने नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

यही असोज ११ र १२ गते मनाइने उक्त दिवसको पहिलो दिन एसोसिएसनबाट प्रकाशित डेरी दर्पण २०७३ विमोचन र दुग्ध पदार्थ तथा उपकरणको प्रदर्शनी गरिने छ ।

काठमाडौँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने उक्त कार्यक्रममा दुग्ध व्यवसायी, किसान, दाना व्यवसायीलगायतका विभिन्न स्टल राखिने छ ।