चितवन। विद्यार्थी तथा प्रध्यापकहरुले लामो समय आन्दोलन र तालाबन्दी गरेपछि कृषि तथा वन विश्व विद्यालय प्रशासनले ‘असहज परिस्थित निम्तिएको’ भन्दै अनिश्चितकालका लागि विश्वविद्यालय बन्द गरेको छ।
शुक्रबार ३ बजेसम्म छात्रावासमा रहेका विद्यार्थीलाई बाहिर जान क्याम्पस प्रकाशनले समय तोकेको थियो । प्रशासनले तोकेको समयमा छात्रावास नछाड्ने विद्यार्थीहरुलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जबर्जस्ति बाहिर निकाल्यो। यसअघि कृषि संकाय र पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले भ्रमण भत्ताको माग गर्दै तालाबन्दी गरेका थिए ।
आन्‍दोलनको क्रममा तोडफोड भएपछि स्थिति नियन्त्रण भन्दा बाहिर गएकोले विश्वविद्यालयको शैक्षिक नियमावलीअनुसार ‘साईन डाई’ गरेको विश्वविद्यालयका कृषि संकायका डिन जय प्रकाश दत्तले बताए ।‘पटक पटक वार्ता गर्दापनि कुरा नमिलेपछि तोडफोडको स्थिति आयो। स्थिति अराजक हुने भएपछि शैक्षिक वातावरण सहज बनाउन बन्द गरिएको हो ।’ उनले भने।
आन्दोलनको कारणले अराजक स्थिति नहोस भनेर विश्वविद्यालयले अनुरोध गरेपछि प्रशासन अग्रसर भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए। विद्यार्थीहरुको आन्दोलनका कारण यस क्याम्पसमा एक महिनादेखी पढाइ भएको थिएन। ५ वटा विभिन्न संगठनले आफ्ना माग पुरा गराउन दबाब दिदैं विश्वविद्यालयको मुख्य कार्यालयको ढोकामा ३ वटा ताला लगाएका छन्। यस क्याम्पमा विद्यार्थी, प्राध्यापक र अन्य कर्मचारीहरु समेत आन्दोलित छन्।