भक्तपर। गाईभैँसीमा नश्ल सुधार हुने र दूध बढी दिने भएपछि जिल्लाका किसान गाईभैँसीको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् ।

गाई र भैँसीलाई गर्भाधान गर्न उन्नत जातको बहर र राँगो नपाउने भएका कारण समेत किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक उमेशलाल प्रधानका अनुसार गत आवमा ८ हजार २६५ वटा गाई र ३८२ वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।

कृत्रिम गर्भाधानका लागि पशु चिकित्सक र कर्मचारी घरमै जाने भएकाले किसानलाई सहज भएको छ । जिल्लामा उन्नत जातको राँगो वा बहर पाल्ने किसान निकै कम भएका र त्यसको प्रभावकारितासमेत घटेपछि गाईभैँसीको कृत्रिम गर्भाधानमा आकर्षण बढेको बताइएको छ ।