काठमाडौं। पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन केही दिनभित्रै मध्य क्षेत्र हुँदै पश्चिम क्षेत्रसम्म पुग्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यो १ सय ५ दिनको हुन्छ ।

तर केहिवर्षयता ढिला भित्रिएर ढिला नै सकिँदै आएको छ । पोहोर ३ दिन ढिला सुरु भएको मनसुन यसवर्ष भने ५ दिन पछि हिजो नेपाल प्रवेश गरेको हो । यो वर्ष समग्रमा देशभरी नै सामान्य पानी पर्ने मौसमविद्को अनुमान छ । तर क्षेत्रगत रुपमा भने मध्य र सुदुरपश्चिमको तराईका केही ठाउँ तथा सुदुरपश्चिमका केही पहाडी क्षेत्रमा सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै पूर्वका केही तराई र पहाडी क्षेत्रमा सरदर भन्दा कम पानी पर्ने अनुमान छ । बाँकी ठाउँमा भने सरदर वर्षा हुने आँकलन गरिएको छ । आजपनि देशभरी कै मौसम बदली भइ दिउँसोपछि मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।