ललितपुर। नेपाल डेरी एसोसिएशनद्वारा आयोजित ‘खिर प्रबर्द्धन कार्यक्रम’ दुग्ध किसान राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका सह-सचिव जगन्नाथ तिवारी, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि नारायण देसार, पशु विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे, राष्ट्रिय दुग्ध बिकास बोर्डका सदस्यहरू राजन दाहाल र रामभक्त दाहाल, दुग्ध विकास संस्थानका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू एवं डेरी एसोसिएशनका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौं इङ्लिस स्कुलका स-साना नानीहरूलाई खिर खुवाई कार्यक्रमको समुद्घाटन गरिएको थियो । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सह-सचिव जगनाथ तिवारीले कार्यक्रम प्रति विशेष धन्यवाद दिँदै मन्त्रालयले कृषि क्षेत्रको विकासको लागि समग्र काम गरिरहेको र आवश्यक सरसल्लामा थप काम गर्ने कुरा बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले महासंघ एसोसिएशनले गरेका हरेक क्रियाकलापमा सहभागी हुँदै साथ दिइरहेको कुरा जानकारी गराए । राष्ट्रिय दुग्ध विकास बोर्ड र पशु सेवा विभाग एवं सम्बन्धित सबै वक्ताहरुले नेपाल डेरी एसोसिएसनले गरेका हरेक क्रियाकलापहरूको प्रशंसा गर्दै साथ दिने कुरा बताए । त्यसैगरी, सानो तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले नेपाल डेरी एसोसिएशनले चलाएको मोही अभियानको प्रशंसा गर्दै गुणस्तरमा ध्यान दिन आग्रह गरिन् । निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी घिउ लगायतका वस्तुहरु विदेश निर्यात हुने कुरामा महासंघले भूमिका खेल्ने कुरा बताए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि दुग्ध किसान राम प्रसाद घिमिरेले आफूलाई गोठमा काम गर्दागर्दै प्रमुख अतिथि बनाएकोमा अत्यन्तै खुसी भएको र एसोसिएशनले किसान प्रतिको सम्मान देखाएकोमा आफू अत्यन्तै खुसी भएको र यो सम्मान समग्र किसानको भएको कुरा बताए ।
नेपाल डेरी एसोसिएशनले आज जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने जनाएको हो । एसोसिएशनका अनुसार यस वर्ष साउन १५ का दिन देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ । उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास गरिएको छ । यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएशनको भनाइ छ । एसोसिएशनका अनुसार ‘राष्ट्रिय खिर दिवस’ ले नेपाली मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको उपभोग वृद्धि, किसानहरुको सम्मान, डेरी उद्योगको सुदृढीकरण तथा स्थानीय कृषि उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्दछ । पछिल्ला वर्षहरूमा दूध उत्पादन वृद्धि भए पनि बजार विस्तार चुनौती बनेको अवस्थामा यस्ता अभियानले स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









