सिन्धुपाल्चोक। रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वसँगै यसको उत्पादन, प्रशोधन र बजार विस्तारमा राज्य, निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

‘कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), लिबर्ड नेपाल, खाद्य तथा कृषि संगठन नेपाल (एफएओ) तथा अनाजको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कोदो दिवस मूल समारोह समितिका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला निर्माणमा योगदान पुर्याएका किसानप्रति धन्यवाद व्यक्त गर्दै किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा काम गरिरहेको बताए।

मल व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले विद्यालयको दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गरे । यसबाट किसानले उत्पादनको सुनिश्चित बजार पाउने र स्थानीय अर्थतन्त्र समेत सुदृढ हुने उनको भनाइ थियो ।

सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष पूर्णबहादुर महतले आफ्नो वडाका किसानहरू कृषि व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएको बताए । पछिल्लो समय कोदो खेतीप्रति किसानको आकर्षण बढेको, उत्पादनमा सुधार आएको र बजारको पहुँच पनि विस्तार हुँदै गएको उनले जानकारी दिए ।

कृषि, वातावरण तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उत्पादनसँगै यसको उपभोग र माग निरन्तर बढिरहेको बताए। सरकारले कोदो प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र निजी क्षेत्रको सहकार्यले यस अभियानलाई थप बल पुगेको उनको भनाइ थियो ।

उनले कोदोको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको स्मरण गराए । कोदो उत्पादन विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

खाद्य तथा कृषि संगठन नेपाल (एफएओ)का कार्यक्रम विशेषज्ञ महेश बडालले सरकारले राष्ट्रिय कोदो दिवसलाई प्राथमिकताका साथ मनाउनु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा कोदो प्रवर्द्धनका लागि अझ प्रभावकारी नीति र कार्यक्रम आवश्यक पर्ने बताए । उनले विगतमा हेलामा परेको बालीका रूपमा लिइने कोदो पछिल्लो समय स्वास्थ्य, पोषण र बजारका दृष्टिले महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले यसको दीगो विकासका लागि मूल्य शृङ्खला स्थापना अपरिहार्य रहेको बताए ।

बडालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कोदोका उन्नत बीउको अनुसन्धान तथा संरक्षण गरिरहेको र सहकारी तथा निजी क्षेत्रले समेत यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी दिए । मूल्य शृङ्खलासम्बन्धी समस्या समाधानका लागि एफएओले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव भट्टराईले अन्य खाद्यान्नसरह कोदो पनि महत्वपूर्ण बाली भएको उल्लेख गर्दै गाउँघरमा उत्पादन घट्दै गए पनि सहरी क्षेत्रमा यसको प्रयोग र माग बढेकाले आयातसमेत वृद्धि भएको बताए। उनले उत्पादन वृद्धि गर्न सरकारले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय जीन बैंकमार्फत कोदोका स्थानीय जातको संरक्षण भइरहेको जानकारी दिए ।

उनका अनुसार रैथाने बालीप्रति जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। कोदोसहितका बालीको उत्पादन बढाउन रोपाइँदेखि कटानीसम्म आवश्यक कृषि औजार तथा यान्त्रिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोलाई विगतमा ‘गरिबको खाना’ भनेर हेर्ने प्रवृत्ति रहे पनि व्यावसायिक खेती विस्तारसँगै यसको महत्व उल्लेखनीय रूपमा बढेको बताए। कृषि बजेटको ठूलो हिस्सा रासायनिक मलमा खर्च हुँदा रैथाने बाली प्रवर्द्धनका कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै किसानलाई रासायनिक मलको प्रयोग घटाई जैविक तथा स्थानीय उत्पादनमुखी खेती प्रणाली अपनाउन आग्रह गरे ।

कार्यक्रममा कोदो बाली संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने बाजुराको बडीमालिका नगरपालिका निवासी किसान सत्य खत्रीलाई सम्मान गरिएको थियो। त्यसैगरी लमजुङको घनापोखरी सहकारी संस्थालाइ सम्मान गरिएको छ । कृषि पत्रकारितामा योगदान पुर्याएकोमा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को सिफारिसमा कृषि पत्रिकाका प्रकाशक तथा सम्पादक गोपाल आले मगर तथा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

कोदोजन्य बालीको उत्पादन र उत्पादकत्वमा ह्रास आउने क्रम बढिरहँदा कोदो प्रवर्धनका लागि २०७८ देखि राष्ट्रिय कृषक समुह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन शुरु गरेका थिए । हरेक वर्ष दिवस मनाउँदै कोदोजन्य बालीको दिवस घोषणा गर्न सरकारलाई दबाब दिँदै आइरहेकोमा सरकारले यस विषयलाई सकात्मक रुपमा लिँदै २०८२ सालदेखि साउन १६ गते कोदो दिवस मनाउने मन्त्रिपरिषदबाट निर्णय भएपछि औपचारिक रुपमा राष्ट्रिय दिवसको रुपमा कोदो दिवस साउन १६ लाई मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले सन् २०२३ लाई “अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष “को रुपमा मनाउने घोषणा गरेसंगै विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ ।

कोदो उत्पादन र व्यापारको अवस्था :
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती भई २ लाख ८४ हजार ३५२ मेट्रिक टन उत्पादन भएको छ । औसत उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ६२ करोड २८ लाख रुपैयाँ बराबरका ४४.८८ मेट्रिक टन कोदोजन्य बाली तथा जुनेलो आयात भएको छ भने सोही अवधिमा १३ लाख २५ हजार रुपैयाँ बराबरका २।११ मेट्रिक टन कोदो तथा बीउ निर्यात भएको तथ्यांक छ । सरोकारवालाले बढ्दो आयातलाई प्रतिस्थापन गर्न उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

विशेषज्ञहरूका अनुसार कोदो प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा विभिन्न भिटामिनको महत्वपूर्ण स्रोत हो । परम्परागत परिकार ढिँडो, रोटी र सातुसँगै केक, ब्रेड, बिस्कुट, चाउमिन, पिज्जा लगायत आधुनिक परिकारमा प्रयोग बढाउन सके आन्तरिक बजार विस्तारका साथै पर्यटन क्षेत्रमार्फत पनि यसको माग वृद्धि गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।