चितवन।आर्थिक वर्ष २०७३÷७४ को बजेटमा सरकारले चितवनलाई कुखुरा उत्पादनको विशिष्टीकृत जिल्लाका रुपमा विकास गर्ने घोषणा गरेपछि यहाँका पोल्ट्री व्यवसायीहरु उत्साहित भएका छन् ।

जिल्लालाई पोल्ट्रीको राजधानीका रुपमा विकास गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार १८ वर्ष पहिले अर्थमन्त्री रहँदा डा रामशरण महतले पोल्ट्री व्यवसायीलाई सम्बोधन गरेको भन्दै त्यसपछि अहिले मात्र आएर अर्थमन्त्री विष्णु पौडेलले विशिष्टीकृत जिल्लाका रुपमा सम्बोधन गरेसँगै आफूहरुमा उत्साह जागेको बताउनुहुन्छ । उहाँले ब्याज अनुदानको दायरा खुला गरेर एक प्रतिशत थप अनुदान दिएमा खुसी व्यक्त गर्नुभयो ।

“रु एक करोडसम्म ऋण लिने किसानलाई पाँच प्रतिशत अनुदान पु¥याएपछि उत्साहित भएका छौँ,” उहाँले भन्नुभयो ।
देशको एकमात्र आत्मनिर्भर पोल्ट्री व्यवसाय पछिल्लो समय भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको थियो । व्यवसायलाई अरु बढी आधुनिकीकरण गर्दै उत्पादन बढाउने र विकास गर्ने दिशातर्फ सरकारले सहयोग गर्नुपर्ने पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलको भनाइ छ । “सरकारले सहयोग नगरे यो व्यवसाय आत्मनिर्भर बन्न सक्दैन, त्यसैले छिट्टै पोल्ट्री नीति बनाएर अघि बढ्नुपछ,” उहाँले भन्नुभयो ।

नेपाल अन्डा उत्पादक सङ्घले सरकारसँग बजारीकरणका लागि सहयोग माग्दै आएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले केही क्षेत्रमा राज्यले सहयोग गरेमा यो व्यवसाय आत्मनिर्भर बनिरहने बताउनुभयो । सरकारसँग सङ्घले बजारीकरणका लागि बिना ब्याज रु ३० करोड बजेट, कर छुट, ब्याज अनुदानजस्ता माग गरेको उहाँको भनाइ छ ।

“विशिष्टीकृतभित्र के पर्छ स्पष्ट भए व्यवसायीमा उत्साह अरु थपिने थियो,” उहाँले भन्नुभयो । उद्योग वाणिज्य सङ्घ, चितवनका पूर्वअध्यक्ष एवम् पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले सरकारले बजेटमा कृषि ऋणको सीमा हटाएर पोल्ट्री व्यवसायीलाई राहत मिलेको बताउनुभयो ।

पोल्ट्रीसँग सम्बन्धित सम्पूर्ण कुरा चितवनमा उपलब्ध हुने गरी यसको विकास गरिनुपर्ने उहाँको भनाइ छ । “पोल्ट्री उत्पादनको गुणस्तर परीक्षण, औषधि उत्पादन, रोगको परीक्षण तथा अनुसन्धान ल्याबलगायतका पोल्ट्रीलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार चितवनमा निर्माण गरिनुपर्दछ,” उहाँले भन्नुभयो । देशमा नै पोल्ट्रीमा आएका समस्याको निकासको केन्द्र चितवनलाई बनाउने गरी विकास गरिनुपर्ने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन गौतमका अनुसार पोल्ट्रीको विकास गर्न सकिएमा त्यसका सहयोगी उद्योगहरु पनि फस्टाउने अवसर पाउने बताउनुभयो । कुखुरा उत्पादनको विशिष्टीकृत जिल्ला घोषणासँगै पोल्ट्रीमा लगानी भित्रिने बताउँदै उहाँले यस उद्योगले यहाँको खाद्यान्न, पोल्ट्री उपकरण, औषधि, दानालगायतका उद्योगलाई पनि सहयोग पुग्ने बताउनुभयो । “पोल्ट्रीलाई अरु थप विकास गर्न सकियो भने यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने छ,” उहाँले भन्नुभयो । उद्योग वाणिज्य सङ्घले २०५१ सालमा पोल्ट्री एक्पो आयोजना गरी यसको प्रवद्र्धनका लागि कार्य गर्दै आएको स्मरण गर्दै अध्यक्ष गौतमले लामो समयको प्रयासपछि यहाँका पोल्ट्री व्यवसायीको माग सम्बोधन भएको बताउनुभयो ।

नेपालमा दैनिक २० लाखवटा अन्डा, २५ लाखवटा ब्रोइलर चल्ला उत्पादन हुन्छ । त्यसैगरी प्रतिहप्ता एक लाख २५ हजारवटा लेयर्स चल्ला उत्पादन हुन्छ भने प्रतिदिन पाँच लाख केजी तयारी मासु उत्पादन हुन्छ ।

देशको कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत योगदान पोल्ट्रीले दिएको छ । देशभर करिब एक लाख ५० हजार व्यक्तिलाई रोजगार दिएको यस व्यवसायमा करिब रु ७० अर्ब लगानी भएको व्यवसायीहरुको भनाइ छ । जसमध्ये आधाभन्दा बढी चितवनमा मात्रै लगानी गरिएको बताइएको छ ।