काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अनुसन्धान गरी विकास गरेको जिंक तथा आइरनयुक्त ‘जिंक गहुँ-१’ बाट व्यावसायिक रूपमा पोषणयुक्त चक्की आँटा उत्पादन तथा बजार प्रवर्द्धन गर्न बिग एग्रो उद्योगसँग सम्झौता भएको छ ।
कुपोषण तथा सूक्ष्म पोषक तत्त्वको कमीलाई न्यूनीकरण गर्ने उद्देश्यले नार्क र उद्योगबीच प्राविधिक सहकार्यका लागि सम्झौता भएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि अनुसन्धानका उपलब्धिलाई उद्योग र बजार प्रणालीसँग जोड्दै सर्वसाधारणको दैनिक आहारमा पोषणयुक्त खाद्य पदार्थको पहुँच विस्तार गर्न यो सहकार्य सुरु गरिएको नार्कका कामु कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले बताए।
सम्झौताअनुसार नार्कले आवश्यक प्राविधिक ज्ञान, बीउ तथा उत्पादन प्रविधिसम्बन्धी परामर्श र सहजीकरण उपलब्ध गराउनेछ भने बिग एग्रो उद्योगले गहुँ खरिद, गुणस्तरीय चक्की आँटा उत्पादन, प्याकेजिङ तथा बजार व्यवस्थापनमार्फत उपभोक्तामाझ पुर्याउने छ ।
नार्कले गहुँमा जिंक र आइरनको मात्रा बढी हुने जातहरूको विकास तथा प्रविधि अनुसन्धान गर्दै आएको छ। यसै सिलसिलामा केही वर्षको अनुसन्धानबाट उन्मोचित जिंकयुक्त जातहरू मध्य जिंक गहुँ-१ जातको गहुँबाट व्यावसायिक रूपले आटा उत्पादन सुरु गर्न लागिएको हो। परिषद्बाट विकसित यस्ता गहुँका जातमा रहेको पोषिलोपनको विशेषतालाई उपयोग गर्दै बिग एग्रो उद्योगले आटा उत्पादन सुरु गरेको हो।
पोषिलो गहुँबाट चक्की आँटा उत्पादन गरिने भएकाले गहुँमा प्राकृतिक रूपमा रहेका विभिन्न पोषक तत्त्वलाई आटामा अधिकतम रूपमा कायम राख्ने उद्देश्य रहेको बिग एग्रो उधोगका अध्यक्ष नवराज बुर्लाकोटी बताउँछन् ।
परिषद्बाट विकसित जिंक तथा आइरनयुक्त गहुँको प्रयोगले दैनिक उपभोग गरिने आटामार्फत उपभोक्तासम्म यी सूक्ष्म पोषक तत्त्व पुऱ्याउन थप अवसर सिर्जना गर्ने उनले बताए । यस सहकार्यले अनुसन्धानदेखि उत्पादन, औद्योगिक प्रशोधन र उपभोक्तासम्म कृषि प्रविधि हस्तान्तरणको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुऱ्याउने बताइएको छ ।
कृषि अनुसन्धान परिषद्ले विकास गरेको प्रविधिलाई निजी क्षेत्रको उत्पादन तथा बजार प्रणालीसँग जोड्दा अनुसन्धानका उपलब्धिलाई किसान, उद्योग र उपभोक्तासम्म पुऱ्याउन सकिने परिषद्को विश्वास छ।
यस सहकार्यअन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्ले आवश्यक प्राविधिक ज्ञान, बीउ तथा उत्पादन प्रविधिसम्बन्धी परामर्श र प्राविधिक सहजीकरण गर्नेछ भने बिग एग्रो उद्योगले गहुँ उत्पादन, गुणस्तरीय आटा उत्पादन, प्याकेजिङ तथा बजार व्यवस्थापनमार्फत उत्पादनलाई उपभोक्तामाझ पुऱ्याउनेछ ।
नेपाल कृषि अनुसन्धान परिषद् र विग एग्रो उद्योगले कृषि अनुसन्धानका उपलब्धिलाई व्यावसायिक उत्पादनसँग जोड्दै पोषणयुक्त, गुणस्तरीय र स्वदेशी खाद्य उत्पादनको प्रवर्द्धन गर्ने दिशामा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘जिंक गहुँ-१’ का प्रमुख प्राविधिक विशेषता :
नार्कले केही वर्षको निरन्तर अनुसन्धानपछि उन्मोचित गरेको ‘जिंक गहुँ-१’ जातका विभिन्न प्राविधिक तथा पोषणसम्बन्धी विशेषताहरू रहेका छन् । यस जातको सरदर उत्पादकत्व ५ टन प्रति हेक्टर रहेको छ, जुन नेपालको सामान्य गहुँको सरदर उत्पादकत्व (३ टन प्रति हेक्टर) भन्दा निकै बढी हो।
यस गहुँको दानामा ३५ देखि ५२ पीपीएम जिंक र ३४ देखि ४१ पीपीएम आइरन पाइन्छ । यो जात तराईदेखि ८०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ र बीउ छरेको करिब १२१ दिनमा पाक्छ। बोटको उचाइ सरदर १ मिटर हुने भएकाले यसबाट नल र छवालीको उत्पादन पनि राम्रो हुन्छ । यसमा खैरो सिन्दुरे, पहेँलो सिन्दुरे र पात डढुवा रोग प्रतिरोधी क्षमता रहेको छ ।









