ललितपुर। नेपालमा आयोजना हुन लागेको ई-स्पोर्ट्स प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल ओपन’ (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारका रूपमा भायानेट कम्युनिकेसन्सले सहकार्य गरेको छ । यस प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार उपलब्ध गराउने जिम्मेवारी भायानेटले लिएको हो ।
व्यावसायिक ई-स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमतामा मात्र नभई इन्टरनेटको प्राविधिक कार्यसम्पादनमा पनि प्रत्यक्ष निर्भर हुन्छ । उच्चस्तरको प्रतिस्पर्धा हुने यस्ता खेलमा इन्टरनेटको गति मात्र पर्याप्त नहुने, बरु नेटवर्कको स्थिरता, निरन्तरता र लो ल्याटेन्सी उत्तिकै महत्त्वपूर्ण हुन्छ । खेलका क्रममा हुने सानो अवरोध वा कनेक्टिभिटीमा आउने अस्थिरताले महत्वपूर्ण क्षणमा खेलको अवस्था र अन्तिम नतिजालाई समेत बदल्न सक्ने हुँदा उच्चस्तरीय प्राविधिक पूर्वाधारको आवश्यकता पर्दछ ।
पीएमजीओसँगको यो साझेदारीले भायानेटको ई-स्पोर्ट्स क्षेत्रमा बढ्दो संलग्नतालाई थप मजबुत बनाएको कम्पनीले उल्लेख गरेको छ । यसअघि पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारको रूपमा सेवा दिएको भायानेटले यस पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको जिम्मेवारी लिएको हो ।
भायानेटका अनुसार व्यावसायिक ई-स्पोर्ट्समा केही मिलिसेकेन्डको अन्तरले समेत खेलको नतिजा परिवर्तन गर्न सक्ने हुनाले पीएमजीओ जस्तो ठुलो प्रतियोगिताका लागि इन्टरनेट उपलब्ध गराउनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि हो । यस साझेदारीमार्फत कम्पनीले आफ्ना ग्राहकले दैनिक रूपमा अनुभव गर्ने नेटवर्क विश्वसनीयता र स्थिरतालाई अन्तर्राष्ट्रिय स्तरको आयोजनामा प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ ।









