मुस्ताङ। जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् ।
जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए ।
यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो ।
कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरु भएको बताए । उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो ।
कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ । जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाइ छ ।
जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो । मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । पछिल्लो समय मुस्ताङका किसान छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ ।









