जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा भएको बताए । यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउ खेती गरेका छन् । यो वर्ष मात्र छ हजार ५०० बिरुवाले फल दिन थालेको छ ।

उक्त स्याउ बगैँचामा करिब ३४ देखि ३५ मेट्रिक टन अनुमानित स्याउ उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । सो बगैँचाबाट मात्र रु. ३० लाख बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ । अहिले जिल्लाभर औसत प्रतिकिलो स्याउ रु. ९० मा व्यापारीले खरिद गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । जुम्लामा झन्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । चालु आवमा झन्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कार्यालयले लिएको प्रमुख अधिकारीको भनाइ छ ।