ललितपुर। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड ९औँ वर्षमा प्रवेश गरेको छ । यसक्रममा निरन्तर साथ र विश्वास दिने सम्पूर्ण सेयरधनी, किसान दाजुभाइ तथा दिदीबहिनी, व्यावसायिक साझेदार र शुभचिन्तकहरूमा कम्पनीले आभार व्यक्त गरेको छ ।

कृषिको विविधिकरण, आधुनिक यान्त्रिकीकरण र औद्योगिक विकासमार्फत नेपाली कृषिलाई नयाँ उचाइमा पुर्‍याउन सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

२०७५ भदौ १४ गते स्थापना भएको कम्पनी भदौ १५, २०८३ देखि नवौँ वर्षमा प्रवेश गरेको हो।

‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ भन्ने अवधारणासहित स्थापना भएको कम्पनीले कृषि उत्पादनका लागि आवश्यक इनपुट, कृषि यन्त्र तथा उपकरण, कृषि उपजको व्यापार तथा बजारीकरण, प्रविधि हस्तान्तरण र कृषि परामर्शलगायतका क्षेत्रमा काम गर्दै आएको छ। कम्पनीले कृषि यान्त्रीकरण, कीट व्यवस्थापन तथा मल र बीउको उपलब्धतालाई आफ्ना प्रमुख सेवाका रूपमा अघि सारेको छ।

मुक्तिनाथ कृषि कम्पनीले “गाउँको उत्पादन सहरमा, सहरको पूँजी गाउँमा” र “समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि” भन्ने दुई मुख्य नारालाई अङ्गीकार गर्दै कृषि क्षेत्रको समग्र मूल्य शृङ्खलालाई एकीकृत गरेको छ। यस अन्तर्गत बीउबिजन, मल, नर्सरी, औजार, प्रशोधन, आईटी प्रविधि, र वातावरण संरक्षण जस्ता विभिन्न १० वटा विषयगत भगिनी कम्पनीहरूमार्फत प्रविधिको प्रयोग गरी गाउँको उत्पादनलाई सहरको बजारसँग जोड्ने काम गरिरहेको जनाएको छ।

रसायनरहित प्राकृतिक खेती, माटोको स्वास्थ्य सुधार र उच्च मापदण्डका गुणस्तरीय कृषि उत्पादनमार्फत कृषक र उपभोक्ता दुवैलाई जोड्दै दिगो कृषि अर्थतन्त्रको निर्माण गर्नु यसको मुख्य ध्येय हो।

कम्पनीको दूरदृष्टि कृषि अर्थतन्त्रमा दिगो विकास बढाउनु रहेको छ भने प्रतिस्पर्धात्मक र व्यावसायिक वातावरण बनाएर युवाहरूलाई पुनः कृषि क्षेत्रमै फर्काई यसलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने मुख्य ध्येय लिएको छ।

आफ्ना ग्राहक (कृषक र उपभोक्ता) प्रतिको प्रतिबद्धता, व्यावसायिकता, लक्ष्य-उन्मुख कार्यशैली, एकता, नवीन सोच र दिगोपनलाई कम्पनीले आफ्नो मुख्य मूल्य-मान्यता (Values) का रूपमा स्थापित गरेको छ। यसरी आधुनिक प्रविधि, जैविक खेती र सशक्त संस्थागत संरचनाका माध्यमबाट देशको कृषि क्षेत्रलाई रूपान्तरण गर्न कम्पनी क्रियाशील देखिन्छ।