ललितपुर।  नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले रसुवा बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख बढीको आर्थिक सहयोग प्रदान गरेको छ।

संघका अध्यक्ष कृष्ण शर्माका अनुसार रसुवा बाढीपछि सरकारले गरेको सार्वजनिक आह्वानलाई सम्बोधन गर्दै संस्थागत सामाजिक दायित्व स्वरूप उक्त सहयोग रकम कोषमा दाखिला गरिएको हो।

अध्यक्ष शर्माले बुधबार चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, र गोरखा लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले त्रासदीपूर्ण घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

विगतका भूकम्प लगायतका प्राकृतिक विपत्तिहरूमा पनि हातेमालो गर्दै आएको स्मरण गराउँदै संघका महासचिव अर्जुन लुइटेलले व्यवसायसँगै राष्ट्रलाई संकट परेको घडीमा मद्दत पुर्‍याउन संघले यो सानो प्रयास गरेको बताउनुभयो।

पहिलो चरणमा ५ लाख ११ हजार २ सय ३८ रुपैंया सहयोग गरेको संघले दोस्रो चरणमा सदस्यहरुबाट प्राप्त आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको छ ।

संघ नेपालमा कृषि यन्त्र र प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो।