ललितपुर। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोष वा सरकारी आधिकारिक च्यानलमार्फत आर्थिक सहयोग गर्न सदस्यलाई अपिल गरेको छ।
संघका अध्यक्ष कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस विषम र अकल्पनीय घडीमा सबैले आफू सुरक्षित रहँदै मानवीय सहायतामा जुट्नुपर्ने आवश्यकता छ। संघ एकताबद्ध भई मानव सेवा र राहत कार्यमा निरन्तर प्रतिबद्ध रहनेछ।”
नामियाका सदस्यहरुले स्वतस्फूर्त रुपमा रकमको प्रतिबद्धता गर्ने क्रम जारी रहेको र संस्थाले एकमुष्ट रुपमा राहत कोषमा रकम १-२ दिनमा जम्मा गर्ने तयारी रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
नामियाले बाढी प्रभावित क्षेत्र नजिक रहेका आफ्ना स्थानीय सदस्यहरूलाई उद्धार तथा राहत टोलीसँग समन्वय गरी प्रत्यक्ष सहयोगमा जुट्न पनि आग्रह गरेको छ। संघ नेपालमा कृषि यन्त्र र प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो।









