ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीका कारण पशुचौपायामा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पशु सेवा विभागलाई निर्देशन दिएकी छन्।
बाढीपछि पशुचौपायाको आवतजावत र एकअर्कासँगको सम्पर्क बढ्न सक्ने भएकाले रोग संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्री चौधरीले पशु स्वास्थ्यमा विशेष निगरानी र सतर्कता अपनाउन निर्देशन दिएकी हुन्।
उनले विशेषगरी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यको अवस्था निगरानी गर्न निर्देशन दिएकी छन्। ती जिल्लामा सम्भावित रोगको पहिचान, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम तत्काल अघि बढाउन विभागलाई भनिएको छ।
मन्त्री चौधरीले विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्। पशुजन्य रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै आवश्यक कदम तत्काल चाल्नुपर्नेमा उनले जोड दिएकी छन्।
बाढी प्रभावित क्षेत्रमा पशु स्वास्थ्यसम्बन्धी जोखिमको नियमित अनुगमन, सम्भावित रोगको समयमै पहिचान तथा आवश्यक उपचार र नियन्त्रणका उपाय प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत विभागलाई निर्देशन दिइएको छ।









