बेलबारी। नेपाली युवाको सिर्जनशीलता र प्रविधिप्रतिको लगावको उदाहरण प्रस्तुत गर्दै बेलबारी नगरपालिका–८ निवासी सेवक गौतमले ‘कृषि पात्रो’ नामक मोबाइल एप निर्माण गरेका छन्। कृषि क्षेत्रसँग सम्बन्धित आवश्यक जानकारीलाई डिजिटल माध्यमबाट सहज रूपमा किसानसम्म पुर्याउने उद्देश्यले तयार पारिएको उक्त एपको औपचारिक उद्घाटनसमेत भइसकेको छ।
‘कृषि पात्रो’ एपमार्फत किसान तथा कृषि क्षेत्रमा रुचि राख्ने व्यक्तिले खेतीपाती, कृषि प्रविधि, मौसम, बजार मूल्यलगायत कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।
कृषि क्षेत्रमा आवश्यक सूचना समयमै उपलब्ध गराउने र किसानलाई प्रविधिसँग जोड्ने उद्देश्यले एप विकास गरिएको निर्माणकर्ता गौतमले बताएका छन्। आफ्नै सीप, ज्ञान र मेहनतबाट तयार पारिएको यस एपले कृषि क्षेत्रका सूचना तथा प्रविधिलाई एउटै डिजिटल माध्यममा जोड्ने प्रयास गरेको छ।
स्थानीय युवाले नयाँ सोच र प्रविधिको प्रयोगमार्फत निर्माण गरेको ‘कृषि पात्रो’ अहिले बजारमा उपलब्ध छ। कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा गौतमको यो प्रयासले किसानलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउन तथा कृषि क्षेत्रलाई डिजिटल युगसँग जोड्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय स्तरबाटै प्रविधिको प्रयोग गरी कृषि क्षेत्रका लागि उपयोगी एप निर्माण हुनु युवाको सिर्जनशीलता र नवीन सोचको सकारात्मक उदाहरणका रूपमा समेत हेरिएको छ।









