ललितपुर। भायानेट कम्युनिकेसन पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट साझेदार बनेको छ । यो साझेदारीमार्फत भायानेटले नेपालको बढ्दो ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने जनाएको छ ।
पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल २०२६ को राष्ट्रिय फाइनल प्रतियोगिता शनिबार र आइतबार (भदौ ६ र ७) काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना भइरहेको छ ।
पछिल्लो समय नेपालमा गेमिङ मनोरञ्जनमा मात्र सीमित नरही प्रतिस्पर्धा, समुदाय तथा युवाका निम्ति करियरको सम्भावना समेत बन्दै गएको छ । यही परिवर्तनलाई ध्यानमा राख्दै भायानेटले ई–स्पोर्ट्सलाई नयाँ पुस्तासँग जोडिने महत्त्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ ।
भायानेट कम्युनिकेसनका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले गेमिङ अहिले मनोरञ्जनमा मात्र सीमित नरहेको बताए । प्रतिस्पर्धात्मक गेमिङमा हरेक क्षण महत्त्वपूर्ण हुने भएकाले इन्टरनेटको गुणस्तरले ठूलो फरक पार्ने उनले उल्लेख गरे । उनले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपालसँग जोडिन पाउँदा उत्साहित रहेको बताए । उनका अनुसार, यो साझेदारीमार्फत गेमर तथा गेमिङ समुदायलाई भायानेट वाइफाइ ६ को अनुभवसँग जोड्ने उद्देश्य राखिएको छ ।
भायानेटका अनुसार, वाइफाई ६ उच्च क्षमताको इन्टरनेट आवश्यक पर्ने गतिविधिका निम्ति तयार गरिएको प्रविधि हो । यसले चार गुणासम्म उच्च कार्यक्षमता, राम्रो पहुँच तथा कम विलम्बता प्रदान गर्ने कम्पनीको दाबी छ । गेमिङका अतिरिक्त भिडियो हेर्ने, घरबाट काम गर्ने तथा एउटै समयमा धेरै उपकरण प्रयोग हुने अवस्थामा समेत वाइफाई ६ ले सहज इन्टरनेट अनुभव प्रदान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
नेपालमा ई–स्पोर्ट्सप्रति युवाको आकर्षण बढ्दै गएसँगै भायानेटले खेलाडी, गेमर तथा समग्र गेमिङ समुदायलाई राम्रो इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले यस क्षेत्रमा आफ्नो सहभागिता बढाउँदै लगेको जनाएको छ ।
पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल २०२६ मा भायानेटले इन्टरनेट साझेदारका रूपमा खेलाडीको प्रतिस्पर्धाका निम्ति आवश्यक कनेक्सन उपलब्ध गराउनेछ । कम्पनीले यो साझेदारीमार्फत नेपालको ई–स्पोर्ट्स क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै गेमिङ समुदायसँगको सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरेको छ ।
भायानेट कम्युनिकेसन नेपालका अग्रणी इन्टरनेट सेवाप्रदायकमध्ये एक हो । कम्पनीले देशभरका घर तथा व्यवसायका निम्ति उच्च गतिको इन्टरनेट तथा डिजिटल सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । आधुनिक प्रविधि र भरपर्दो कनेक्सनमार्फत ग्राहकलाई सहज तथा गुणस्तरीय इन्टरनेट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।









