ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ। परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबालीका साथै दलहन, तेलहन, आलु, तरकारी, फलफूल र कन्दमूल बाली उन्मोचन गरेको हो।

तराईदेखि उच्च पहाडसम्मका विभिन्न भौगोलिक हावापानी सुहाउँदा, रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिए। आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत रूपमा काम गर्दै आएको परिषद्ले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान जारी राखेको छ।

विभिन्न बालीका जात, नश्ल तथा उत्पादन प्रविधि विकास गर्न कृषि अनुसन्धान कार्यक्रममार्फत क्षेत्रगत समस्या निराकरणका उपाय पत्ता लगाउने र नीति तर्जुमाका लागि सरकारलाई आवश्यक सहयोग पुर्याउने काम परिषद्ले गर्दै आएको छ।