ललितपुर। दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यु पहिलोपटक विदेश निर्यात शुरू भएको छ । डीडीसीको घ्युको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलाई रोजिएको छ ।

रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडले पहिलो चरणमा ६०० किलो डीडीसी घ्यु दुबई निर्यात गर्न लागेको हो ।

अहिले परीक्षण (ट्रायल)का रूपमा ६०० किलो घ्यु दुबई पठाइएको र आगामी दिनमा मध्यपूर्वका अन्य देशमा समेत निर्यात विस्तार गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसअघि पनि अन्य खाद्य सामग्री विदेश निर्यात गर्दै आएको छ ।

डीडीसी सरकारको स्वामित्वमा रहेको उत्पादन भएकाले अहिले सहुलियत हिसाबले निर्यात गरिएको कम्पनीले जनाएको छ । पहिलो चरणमा घ्यु हवाईमार्गबाट दुबई पठाइएको हो। दुबईमा रहेको एक डिपार्टमेन्ट स्टोरमा तत्काल उपलब्ध गराउनुपर्ने भएकाले हवाई मार्ग प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

आगामी दिनमा निर्यातको मात्रा बढाउँदै ठूलो परिमाणमा घ्यु कन्टेनर (जलमार्ग)मार्फत पठाइने कम्पनीका प्रबन्ध निर्देशक  प्रकाशचन्द्र घिमिरेले बताए ।