ललितपुर। नेपालमै अनुसन्धान तथा विकास गरी जैविक कृषि सामग्री उत्पादन गर्दै आएको भरोसा कृषि बहुउद्देश्यीय प्रालिका सह–संस्थापक राजिब खनाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित ‘अमेरिकी दूतावास उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमध्ये पर्न सफल भएका छन्।

खनालले काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा सहभागिता जनाउँदै ‘चिटो प्लस’ (Chito Plus) ब्रान्डअन्तर्गत विकास गरिएका कृषि–जैविक उत्पादन, किसानका लागि तिनको उपयोगिता, अनुसन्धान तथा विकास, बजार विस्तार तथा दक्षिण एसियाली बजारमा निर्यात गर्ने भावी योजनाबारे राष्ट्रिय मञ्चमा प्रस्तुति दिएका थिए।

देशभरबाट कार्यक्रमका लागि ८०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये सातै प्रदेश समेट्ने गरी नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यक्रमका लागि २०० भन्दा बढी उद्यमी छनोट गरी प्रशिक्षण प्रदान गरिएको थियो।

त्यसपछि व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, उद्यमीको प्रतिबद्धता तथा बजार सम्भावनालगायत आधारमा गरिएको अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट केवल २० उद्यमी काठमाडौंमा आयोजित क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका हुन्।

नेपालमै अनुसन्धान र विकास—किसानका लागि ‘चिटो प्लस’ :
भरोसा कृषि बहुउद्देश्यीय प्रालिले चिटो प्लस ब्रान्डअन्तर्गत चिटोसानमा आधारित जैविक कृषि सामग्रीको विकास तथा उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादनमा बालीको वृद्धि प्रवर्द्धक, पशु आहार पूरक तथा मत्स्यपालनका लागि पानीको गुणस्तर सुधार गर्ने सामग्री समावेश छन्।

अनुसन्धान तथा विकासमा आधारित कम्पनीले किसानले भोगिरहेका व्यावहारिक समस्यालाई ध्यानमा राख्दै कृषि तथा पशुपालन क्षेत्रमा प्रयोग गर्न सकिने प्रभावकारी उत्पादन विकासमा जोड दिएको छ। हाल कम्पनीले नेपालभरका किसान, कुखुरापालक, माछा ह्याचरी तथा सहकारी संस्थालाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ।

कृषि उत्पादनमा जैविक विकल्प विस्तार गर्ने लक्ष्य :

चिटो प्लसले कृषि उत्पादन प्रणालीमा जैविक तथा प्रविधिमा आधारित सामग्रीको प्रयोग विस्तार गर्दै किसानलाई प्रभावकारी विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनीले बाली उत्पादनका लागि वृद्धि प्रवर्द्धकदेखि पशुपालन तथा मत्स्यपालनसम्म प्रयोग गर्न सकिने उत्पादन विकास गर्दै कृषि क्षेत्रका विभिन्न आवश्यकता एउटै अनुसन्धान तथा विकास प्रणालीमार्फत सम्बोधन गर्ने प्रयास गरिरहेको छ।

नेपालकै अग्रणी जैविक वृद्धि प्रवर्द्धक ब्रान्ड बन्ने लक्ष्य राखेको कम्पनीले अब जैविक विषादी उत्पादनतर्फ समेत आफ्नो अनुसन्धान र उत्पादन क्षमता विस्तार गरिरहेको छ।
यसले कृषि उत्पादनमा नयाँ प्रविधिको प्रयोग बढाउनुका साथै नेपालमै अनुसन्धान र विकास भएका कृषि सामग्रीको बजार विस्तार गर्ने सम्भावना बोकेको छ।
नेपालबाट दक्षिण एसियाली बजारसम्म पुग्ने योजना

चिटो प्लसको आगामी लक्ष्य नेपाली बजारमा मात्र सीमित छैन। कम्पनीले आफ्ना कृषि–जैविक उत्पादनलाई दक्षिण एसियाली बजारसम्म निर्यात गर्ने योजना अघि सारेको छ।
नेपाल र दक्षिण एसियाका किसानले सामना गर्ने कृषि, पशुपालन तथा मत्स्यपालनसम्बन्धी धेरै चुनौतीमा समानता रहेकाले नेपालमा विकसित समाधानलाई क्षेत्रीय बजारमा विस्तार गर्न सकिने कम्पनीको विश्वास छ।

उत्पादनको गुणस्तर, अनुसन्धान तथा विकास, उत्पादन क्षमता र बजार रणनीतिलाई थप मजबुत बनाउँदै चिटो प्लसलाई नेपालबाट विकसित भएको प्रतिस्पर्धी कृषि–जैविक प्रविधि ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

व्यवसाय, वित्त र कृषिको अनुभवलाई उद्यमशीलतासँग जोड्दै राजीव खनाल :
राजीव खनाल भरोसा कृषि बहुउद्देश्यीय प्रालिका सह–संस्थापक तथा साझेदार हुन्। व्यवसाय प्रशासन तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका खनालसँग व्यवसाय तथा वित्तीय विश्लेषण, कृषि तथा उत्पादन विकाससम्बन्धी अनुभव छ।

व्यवसायिक रणनीति र वित्तीय विश्लेषणको ज्ञानलाई कृषि तथा उत्पादन विकाससँग जोड्दै उनले कम्पनीको बजार विस्तार र दीर्घकालीन व्यावसायिक विकासमा भूमिका निर्वाह गर्दै आएका छन्। उनको यही बहुआयामिक अनुभवले चिटो प्लसलाई अनुसन्धानमा आधारित उत्पादनबाट बजारमुखी तथा विस्तारयोग्य कृषि उद्यमका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ।

राष्ट्रिय मञ्चमा कृषि–जैविक प्रविधिको व्यवसायिक सम्भावना प्रस्तुत :
क्यापस्टोन एक्सेलेरेटरमा खनालले चिटो प्लसको व्यवसायिक यात्रा, अनुसन्धान तथा विकास, उत्पादनको विशेषता, किसानसम्मको बजार पहुँच र भविष्यको विस्तार रणनीतिबारे प्रस्तुति दिएका थिए।

विशेषगरी उनले नेपालमै विकास गरिएको कृषि–जैविक प्रविधिलाई व्यावसायिक रूपमा विस्तार गर्दै किसानसम्म पुर्‍याउने र भविष्यमा दक्षिण एसियाली बजारमा निर्यात गर्ने सम्भावना प्रस्तुत गरेका थिए।

उनले कम्पनीलाई थप लगानीयोग्य बनाउने, उत्पादन क्षमता विस्तार गर्ने, जैविक विषादीतर्फ उत्पादन विविधीकरण गर्ने तथा क्षेत्रीय बजारमा प्रवेश गर्ने योजनाबारे समेत प्रस्तुति दिएका थिए।

‘नेपालमै विकास भएको कृषि प्रविधिलाई क्षेत्रीय बजारसम्म पुर्‍याउने लक्ष्य छ’—खनाल
क्यापस्टोन एक्सेलेरेटरको अनुभवबारे खनालले भने :
“हामीले नेपालका किसानका वास्तविक आवश्यकता र समस्यालाई बुझेर चिटो प्लसका उत्पादन विकास गरेका हौं। अब हाम्रो लक्ष्य नेपालमै अनुसन्धान र विकास भएको कृषि–जैविक प्रविधिलाई अझ धेरै किसानसम्म पुर्‍याउँदै दक्षिण एसियाली बजारसम्म विस्तार गर्नु हो। उद्यमशीलता सीप विकास कार्यक्रम र क्यापस्टोन एक्सेलेरेटरले व्यवसायलाई विस्तारयोग्य बनाउने, निर्यातका लागि तयारी गर्ने र सही व्यावसायिक सञ्जालसँग जोडिने विषयमा नयाँ दृष्टिकोण दिएको छ। यसले नेपाली कृषि प्रविधि पनि क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने हाम्रो आत्मविश्वास थप बढाएको छ।”

तीनदिने क्यापस्टोनमा निर्यात, कृत्रिम बुद्धिमत्ता र लगानी तयारीमा जोड :
देशभरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० मा परेका उद्यमीहरूले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, अन्तर्राष्ट्रिय बजारमा पहुँच, कृत्रिम बुद्धिमत्ताको प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारलगायत विषयमा केन्द्रित प्रशिक्षण प्राप्त गरेका थिए।

क्यापस्टोन एक्सेलेरेटर मुख्यतः निर्यात तयारी, कृत्रिम बुद्धिमत्ता तयारी र लगानी तयारी गरी तीन प्रमुख व्यावसायिक तयारीका क्षेत्रमा केन्द्रित थियो।

अन्तरक्रियात्मक विशेष कक्षा, मार्गदर्शन, सहकर्मीबीच सिकाइ तथा व्यवसाय प्रस्तुति तयारीमार्फत सहभागीहरूले आफ्ना व्यावसायिक रणनीतिलाई थप परिष्कृत गरेका थिए।
यसअघि क्षेत्रीय कार्यक्रमपछि कानुनी अनुपालन, निर्यात तयारी, कृत्रिम बुद्धिमत्तामा आधारित व्यवसाय विस्तार तथा डिजिटल बजार व्यवस्थापनसम्बन्धी भर्चुअल विशेष कक्षासमेत सञ्चालन गरिएको थियो।

लगानीकर्ता र उद्योगीसमक्ष चिटो प्लसको प्रस्तुति :
कार्यक्रमको अन्तिम दिन आयोजना गरिएको ‘लगानी तथा विश्व बजार केन्द्रित व्यवसाय प्रस्तुति सत्र’ मा खनालसहित देशभरका उत्कृष्ट २० उद्यमीले आफ्ना व्यवसाय नेपालका प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरेका थिए।

खनालले चिटो प्लसको अनुसन्धानमा आधारित कृषि–जैविक उत्पादन, नेपाली किसानसम्मको पहुँच, उत्पादन विस्तार, जैविक विषादी विकास तथा दक्षिण एसियाली बजारमा प्रवेश गर्ने रणनीतिबारे प्रस्तुति दिएका थिए।

सहभागीहरूले आफ्ना व्यवसायलाई थप प्रतिस्पर्धी, लगानीयोग्य, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय बजारका लागि तयार बनाउन विज्ञहरूबाट व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।

‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मा चिटो प्लस :

सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्ने अवसरसमेत प्राप्त गरेका थिए। चिटो प्लसले पनि आफ्ना कृषि–जैविक उत्पादन प्रदर्शन गर्दै अनुसन्धान र प्रविधिमा आधारित नेपाली कृषि समाधानलाई किसान, उद्योगी तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्ने अवसर प्राप्त गरेको थियो।

अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले सहभागी उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, नेपालस्थित अमेरिकी वाणिज्य संघ (एमच्याम नेपाल) तथा अन्य नेपाली र अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद र सञ्जाल विस्तार गर्ने अवसर प्रदान गरेको थियो।

अमेरिका–नेपाल व्यावसायिक सम्बन्ध विस्तारमा जोड :
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले भने :
“आजको क्यापस्टोन शोकेस एउटा कार्यक्रमको समापन मात्र होइन, अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण पनि हो। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर हामी आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेका छौं। नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ पुस्ताका उद्यमीहरूलाई सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”

देशभरका उत्कृष्ट २० उद्यमीको सहभागिता :
क्यापस्टोन एक्सेलेरेटर अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम तथा उन्नत चरण हो। नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालित क्षेत्रीय कार्यक्रममार्फत २०० भन्दा बढी उद्यमीलाई प्रशिक्षण प्रदान गरिएको थियो। तीमध्ये अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० उद्यमीलाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट गरिएको थियो।

छनोट भएका उद्यमीहरू कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, व्यक्तिगत हेरचाह, सहकारी तथा सामाजिक उद्यमलगायत विविध क्षेत्रमा सक्रिय छन्।