झापा। पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात गत आर्थिक वर्षमा उल्लेख्य रूपमा घटेको छ । निर्यातको परिमाणसँगै आम्दानी पनि घट्दा चिया क्षेत्रका किसान, उद्योगी तथा वैदेशिक व्यापारमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा रु. ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया भारत निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने रु. ४ अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।

तथ्याङ्कअनुसार एक वर्षको अवधिमा चिया निर्यातबाट प्राप्त आम्दानी करिब रु. ६३ करोड ९६ लाख ८९ हजारले घटेको छ भने निर्यात परिमाण पनि उल्लेख्य रूपमा कम भएको छ ।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो स्थानमा पर्दछ । उनका अनुसार भारतीय बजारमा मूल्यको उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैर-भन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा आउने परिवर्तनका कारण चिया निर्यात प्रभावित भएको हो ।

नेपालमा उत्पादित सिटिसी (CTC) र अर्थोडक्स चियाको ठूलो हिस्सा काँकडभिट्टा नाका हुँदै भारतीय बजारमा पुग्ने गर्दछ। निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी तथा समग्र वैदेशिक व्यापारमा समेत नकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ ।